कञ्चनपुर: मंगलबार सामुदायिक वन समन्वय समिति (सिएफसिसी) ले तराई भू-परिधि कार्यक्रम (ताल) को सहकार्यमा आयोजना गरेको “संरक्षणमा सञ्चारकर्मी र संरक्षणकर्मीबीच सहकार्य” विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।


हालका वर्षहरूमा वन, वन्यजन्तु तथा पर्यावरणमाथि निरन्तर प्रहार भइरहेकाले यसको प्रभावकारी संरक्षणका लागि सञ्चारकर्मी र संरक्षणकर्मीबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ। सामुदायिक वन समन्वय समिति (सिएफसिसी) का अध्यक्ष तथा पूर्व सांसद महेश दत्त जोशीले वातावरण संरक्षणमा सञ्चारकर्मी र संरक्षणकर्मी दुवैको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। उनले भने,“पर्यावरण संरक्षणका लागि विभिन्न निकायहरूको जिम्मेवारी भए पनि सञ्चारकर्मी र संरक्षणकर्मी थप जिम्मेवार हुनुपर्छ। यिनीहरूको समन्वयले संरक्षण कार्यक्रमहरू अझ प्रभावकारी बनाउँछ।”

जोशीका अनुसार वन, वन्यजन्तु र पर्यावरणसँग सम्बन्धित अपराध तथा तस्करी नियन्त्रण गर्न सञ्चारकर्मीहरूले सशक्त रूपमा विषय उठाउनुपर्छ भने संरक्षणकर्मीहरूले नीतिगत रूपमा प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्छ।
वन संरक्षणका लागि सञ्चारकर्मीहरूले सार्वजनिक सचेतना अभिवृद्धि गर्न, गैरकानुनी गतिविधिहरूको पर्दाफास गर्न र उदाहरणीय संरक्षण प्रयासहरू उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताइएको छ।
सिएफसिसीका टिम लिडर शिवदत्त पन्तका अनुसार, विगतका वर्षहरूमा सिएफसिसीले वन हेरालु प्रशिक्षण, उपभोक्ताहरूलाई सीपमूलक तालिम, ईको क्लबहरू मार्फत विद्यार्थी तथा शिक्षकलाई संरक्षणसम्बन्धी प्रशिक्षण, चोरी–तस्करी नियन्त्रण, वन पैदावारमा उपभोक्ताहरूको पहुँच सुनिश्चित गर्ने जस्ता कार्यक्रमहरू सञ्चालन गरेको थियो। तर, तीनै तहका सरकारका ऐन कानुनहरू अस्पष्ट हुँदा संरक्षणका कामहरू चुनौतीपूर्ण बनिरहेको उनले बताए।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर का उपप्राध्यापक उमाकान्त जोशीले संरक्षण अभियानलाई प्रभावकारी बनाउन संरक्षणकर्मीहरूले आफ्नो जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्नुपर्ने बताए। उनले भने,”संरक्षणका प्रयासहरूलाई दीर्घकालीन बनाउन संरक्षणकर्मीहरूले नीति कार्यान्वयनमा ध्यान दिनुपर्छ भने सञ्चारकर्मीहरूले वास्तविकता उजागर गर्दै सरोकारवाला निकायहरूलाई जिम्मेवार बनाउनुपर्छ।”
उनका अनुसार, स्थानीय समुदायको सक्रिय सहभागिता विना दीर्घकालीन संरक्षण सम्भव छैन, त्यसैले संरक्षणमा समुदायलाई सशक्त बनाउनुपर्ने आवश्यकता रहेको बताए।
वन, वन्यजन्तु तथा पर्यावरण संरक्षणका लागि सञ्चारकर्मी र संरक्षणकर्मीबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ। सञ्चारकर्मीहरूले समाचार तथा अनुसन्धानमार्फत यथार्थ बाहिर ल्याउनु पर्नेमा जोड दिइएको छ भने संरक्षणकर्मीहरूले नीति तथा कार्यक्रमहरू प्रभावकारी बनाउन पहल गर्नुपर्ने बताइयो। कार्यक्रममा संरक्षणकर्मी, सञ्चारकर्मी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो भने कार्यक्रम बिजयसाल होमस्टे सामुदायिक भवनमा सम्पन्न गरिएको छ।