लालझाडीमा सडक कालोपत्रे हुदा स्थानीयहरु हर्षित

शंकरपुर: लालझाडी गाउँपालिका–२ स्थित काठमाडौँ डाँडा–कञ्ज बजार रिङरोड सडक कालोपत्रे भएपछि स्थानीयवासी उत्साहित भएका छन्। लामो समयदेखि धुलो र हिलोको सास्ती खेप्दै आएका यहाँका बासिन्दाले अब भने सहज यात्रा गर्ने आशा राखेका छन्।

गर्मी मौसममा सडकमा उड्ने धुलो र वर्षायाममा हिलोका कारण स्थानीयले निकै कठिनाइ झेल्दै आएका थिए। तर, हालै सम्पन्न सडक कालोपत्रे परियोजनाले यस समस्याबाट मुक्ति दिलाएको छ। लालझाडी गाउँपालिकाले विशेष पहल गरी तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको हो।

गाउँपालिका भित्र यातायात सहज बनाउने उद्देश्यले यो परियोजना अघि बढाइएको हो। “सडक पूर्वाधार विकासमा हाम्रो प्राथमिकता रहेको छ। अब स्थानीयलाई यात्रा गर्न सहज हुनेछ-गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए।

उनले भने”, सडक कालोपत्रे भएसँगै गाउँपालिका भित्रकै आर्थिक गतिविधि समेत वृद्धि हुने अपेक्षा गरिएको छ। यातायात सहज भएपछि स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सजिलो हुनेछ भने व्यापार, शिक्षा र स्वास्थ्य सेवामा समेत सुधार आउनेछ।

निकट भविष्यमै विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको चान्देव,शंकरपुर,नौरङा, पुनर्वास ११ रणनीतिक सडक समेत यसै सडकसँग जोडिनेछ। यसले लालझाडी गाउँपालिकाको समग्र विकासलाई अझ गति दिने विश्वास गरिएको पालिका अध्यक्ष रानाले बताए।

स्थानीय बासिन्दा भन्छन्, “पहिले सडकको अवस्था निकै खराव थियो। बर्खामा हिलो र गर्मीमा धुलोले हैरान बनाउँथ्यो। अहिले भने हाम्रा दिन फेरिएका छन्।”

यस्तै, स्थानीय व्यवसायीहरू पनि सडक सुधारले व्यापार बढ्नेमा आशावादी छन्। स्थानीय एक व्यवसायीले भने, “पहिले ग्राहक आउन गाह्रो हुन्थ्यो, सामान ढुवानी महँगो पर्थ्यो। अब भने व्यापार फस्टाउनेछ आशा बोकेका छौ।”

लालझाडी गाउँपालिकाले आगामी दिनमा थप सडक पूर्वाधार विकास गर्ने योजनासमेत अघि सारेको छ। “हामी अन्य महत्वपूर्ण सडकहरूलाई पनि स्तरोन्नति गर्दै छौँ,” अध्यक्ष रानाले थपे। यसरी, लालझाडी गाउँपालिकामा काठमाडौँ डाँडा–कञ्ज बजार रिङरोड सडक कालोपत्रे भएसँगै स्थानीयमा खुसीयाली छाएको छ। यातायातको पहुँचले गाउँको समग्र विकासलाई टेवा दिने अपेक्षा गरिएको छ।

Facebook Comments Box