लालझाडीका जेष्ठ नागरिकलाई निःशुल्क तिर्थ यात्रा

शंकरपुर: कञ्चनपुरको लालझाडी गाउँपालिकाले धार्मिक आस्था प्रवर्द्धन र जेष्ठ नागरिकहरूको इच्छालाई सम्मान गर्दै लालझाडी गाउँपालिकाले ७० जना जेष्ठ नागरिकलाई निःशुल्क तिर्थयात्रा गराएको छ। बुधबार आयोजित विशेष समारोहका बीच उनीहरूलाई खादा, फूलमाला र टीका लगाई बिदाइ गरिएको थियो।

जनकपुरस्थित जानकी मन्दिर, लुम्बिनी र देवघाट धाम लगायतका धार्मिक स्थलहरूको दर्शन गराउने उद्देश्यले यो यात्रा आयोजना गरिएको हो। आर्थिक वा अन्य कारणले तिर्थ यात्रा गर्न नसकेका जेष्ठ नागरिकलाई विशेष अवसर दिन यो कार्यक्रम ल्याइएको पालिका प्रमुख निर्मल रानाले बताएका छन्।

यात्रामा स्वास्थ्यकर्मी, सहायक टोली, खानपान र बसोबासको उचित व्यवस्था गरिएको छ। यात्रामा सहभागी एक ७५ वर्षीय नागरिकले भने,“बुढेसकालमा तिर्थ गर्न पाउँदा अत्यन्त खुसी लागेको छ। पालिकाले हाम्रो चाहना पूरा गरिदियो।” स्थानीय बासिन्दाहरूले पनि पालिकाको यो पहलको प्रशंसा गरेका छन्। पालिकाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने पालिका प्रमुख रानाले बताएका छन्।

Facebook Comments Box