पूर्व मुख्यमन्त्री रावलको अभिव्यक्तिप्रति बनदेवी मन्दिरको गम्भीर आपत्ति; माफि नमागे आन्दोलन गर्ने

कञ्चनपुर: भिमदत्त नगरपालिका, महेन्द्रनगरमा मिति २०८१ साल चैत १८ गते नेकपा (एमाले) द्वारा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं नेकपा एमाले नेता पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले दिएको अभिव्यक्तिप्रति श्री बनदेवी निरञ्जनदेव आश्रम व्यवस्थापन समितिले गम्भीर आपत्ति प्रकट गरेको छ।

उक्त कार्यक्रममा नेता रावलले “कृष्णपुरको बनदेवीमा गई भांग खानेहरूलाई हामी राजा मान्दैनौँ” भन्ने अभिव्यक्ति दिएका थिए, जसले आश्रमको प्रतिष्ठामा आँच पुर्‍याएको समितिको दाबी छ। समितिले यस आधारहीन र अपुष्ट अभिव्यक्तिको कडा शब्दमा भर्त्सना गर्दै धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको संस्थालाई बदनाम गर्ने प्रयास भएको उल्लेख गरेको छ।

समितिका अध्यक्ष गगन बहादुर खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “श्री बनदेवी निरञ्जनदेव आश्रम सनातन हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो। धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण गर्दै आएको यस संस्थामाथि निराधार आरोप लगाउनु सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थामाथिको प्रहार हो।”

समितिले सम्बन्धित व्यक्ति एवम् निकायलाई तुरुन्तै उक्त आपत्तिजनक अभिव्यक्ति फिर्ता लिई सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ। यदि २४ घण्टाभित्र आधिकारिक रूपमा खण्डन गर्दै सार्वजनिक सञ्चारमाध्यममार्फत माफी नमागिएमा, आश्रम व्यवस्थापन समितिले कडा विरोधका कार्यक्रमहरू अघि बढाउने चेतावनीसमेत दिएको छ।

समितिले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण धर्मावलम्बी समुदायलाई एकजुट भई यस्तो अपमानजनक अभिव्यक्तिको विरोध गर्न आह्वान गरेको छ।

Facebook Comments Box