कञ्चनपुरमा यातायात मजदुरहरु आन्दोलित, पुर्व पश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुर: कञ्चनपुरका यातायात मजदुरहरुले सवारी चालक मुकेशराज अवस्थीलाई अन्यायपूर्वक हिरासतमा राखिएको भन्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीका अनुसार यातायात व्यावसायीहरुले पूर्व–पश्चिम राजमार्गको चम्पापुर, भासी पुल र बसपार्क क्षेत्रमा सवारी आवागमन अवरुद्ध गरेका छन्। प्रशासनले स्थिति सामान्य बनाउन यातायात व्यावसायीहरुसँग निरन्तर छलफल गरिरहेको जनाएको छ। नेपाल यातायात मजदुर संघका सचिव रमेश ठगुन्नाका अनुसार केही समयपछि राजमार्ग खुल्ने अपेक्षा गरिएको छ।

माघ १९ गते महेन्द्रनगरबाट धनगढी जाँदै गरेको सुप्र ०२००१ ज ४४७ नम्बरको बसले कृष्णपुर नगरपालिका–2, बंकमा प्रदेश ३०२०१२ प ९४०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सनत रेग्मी र सवार कमलकान्त जोशी घाइते भएका थिए। घटनापछि बस चालक अवस्थीमाथि अंगभंग मुद्दा लगाइएको थियो र उनी कानूनी प्रक्रियाअनुसार पूर्वपक्षका लागि कारागार चलान भएका थिए।

यस घटनालाई लिएर यातायात मजदुरहरुले अवस्थीको पक्षमा उभिँदै निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरुले प्रशासनले कुनै पूर्वाग्रही निर्णय नगर्नुपर्ने भन्दै प्रदर्शन जारी राखेका छन्। प्रशासनले यातायात मजदुरहरु र व्यावसायीहरुसँग वार्ता गरिरहेको छ र छिट्टै राजमार्ग सञ्चालनमा आउने आशा गरिएको छ।

Facebook Comments Box