कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीमा लक्ष्मण ढकाल

कञ्चनपुर: नेपाल सरकारका सहसचिव लक्ष्मण ढकाल कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा नियुक्त भएका छन्। गृह मन्त्रालयले शुक्रबार ढकाललाई कञ्चनपुरको प्रशासनिक नेतृत्वको जिम्मेवारी दिँदै सिडिओका रूपमा खटाएको हो।

यसअघि कञ्चनपुर सिडिओ रहेका सहसचिव नारायणप्रसाद सापकोटाको सरुवा भएको छ। झन्डै एक दशकअघि तत्कालीन स्थानीय विकास अधिकारी (एलडिओ) का रूपमा ढकालले कञ्चनपुरमै सेवा गरेका थिए।

उपसचिव हुँदा एलडिओको जिम्मेवारी सम्हाल्ने क्रममा ढकालले सबै राजनीतिक दल, संघ–संस्था तथा सरोकारवाला पक्षसँग समन्वय गर्दै जिल्लाको विकासमा कुशल नेतृत्व दिएका थिए। उनले कसैसँग नटकराई कूटनीतिक रूपमा कार्य सम्पादन गरी कुशल प्रशासकको छवि बनाएका थिए।

कञ्चनपुरबाट सरुवा भएपछि उनले तराई, पहाड र हिमालका जोखिमयुक्त जिल्लाहरूमा समेत सफल र विवादरहित रूपमा प्रशासकीय जिम्मेवारी सम्हालेका थिए।

विगतमा हासिल गरेको अनुभव र सफलता आधार मानेर सरकारले ढकाललाई पुनः सीमावर्ती र संवेदनशील कञ्चनपुरको कमाण्ड सुम्पिएको हो।

कञ्चनपुर सीमा विवाद, तस्करी, लागुऔषधको ट्रान्जिट प्वाइन्ट, प्रशासनिक ढिलासुस्ती, सार्वजनिक जमिन अतिक्रमण, सवारी दुर्घटना, सामाजिक घटना तथा अझै नसल्झिएको निर्मला हत्याकाण्ड जस्ता विविध चुनौतीको सामना गरिरहेको जिल्ला हो।

ढकालको नेतृत्वमा यी चुनौतीहरू चिर्दै नागरिकलाई सुरक्षा र प्रभावकारी सेवा प्रवाहको अपेक्षा गरिएको छ।

उनको नियुक्तिको खबर बाहिरिएसँगै राजनीतिक, प्रशासनिक तथा स्थानीय तहबाट स्वागत र बधाईको ओइरो लागेको छ। कतिपय स्थानीय अगुवाहरूले कर्मचारीको सरुवा सामान्य प्रक्रिया भए पनि स्वागत कार्यक्रम सद्भाव र संस्कारको रूपमा हुनुपर्ने बताउँदै ढकाललाई दवावमुक्त र निष्पक्ष रूपमा काम गर्न सक्ने वातावरण बनाइनु पर्नेमा जोड दिएका छन्।

Facebook Comments Box