कृष्णपुरमा यु-१९ भलिवल प्रतियोगिता सम्पन्न; विजेता शुक्लाफाँटाको टिम बेल्डाडी

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ स्थित वाणीको खुला मञ्चमा सम्पन्न यु-१९ भलिबल प्रतियोगिता सफलता साथ सम्पन्न भएको छ। जेरोज युनाइटेड क्लबको आयोजनामा सम्पन्न प्रतियोगिता शुक्रवार एक विशेष कार्यक्रमकाबीच उद्घाटन गरिएको थियो।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर वडा नं. २ का अध्यक्ष अर्जुन सिँह साउदले प्रतियोगिताको उद्घाटन गर्दै युवाहरुलाई खेलकुदमा संलग्न गराउन यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताएका थिए। उनले भने, “युवाहरु खेलकुदमा सक्रिय हुँदा उनीहरू कुलतबाट टाढा रहन्छन् र समाजप्रति सकारात्मक सोच विकास हुन्छ। त्यसैले वडाले सधैं खेलकुद गतिविधिमा सहयोग गर्दै आएको छ।”

दुई दिनसम्म चलेको प्रतियोगितामा विभिन्न स्थानबाट ११ वटा टिमको सहभागिता रहेको थियो। खेल संयोजक टेक जोशीका अनुसार प्रतियोगिता पूर्ण रूपमा सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको थियो।

शनिवार प्रतियोगिताको फाइनल खेलमा बेल्डाडी टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो। विजेता टिमलाई नगद पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। उपविजेता टिम कलुवापुरले नगद १ हजार २ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

प्रतियोगिता सफल बनाउन जेरोज युनाइटेड क्लब, स्थानीय युवा, खेलप्रेमी तथा वडा कार्यालयको सक्रिय सहभागिता रहेको आयोजकहरूले बताएका छन्। भविष्यमा पनि यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्दै युवा प्रतिभालाई प्रोत्साहन गरिने आयोजकको भनाइ छ।

यस्ता कार्यक्रमले स्थानीय तहमा खेलकुदको विकास गर्नुका साथै युवाहरूमाझ अनुशासन, टीमवर्क र नेतृत्व क्षमता विकासमा पनि सघाउ पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Facebook Comments Box