वैशाख ११ गते देखि “चौथो महाकाल कप २०८२” ह्विलचेयर बास्केटबल प्रतियोगिता हुदै

काठमाडौं: २०७२ सालको विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरूको स्मृतिमा जय महाकाल युवा समूहले यही वैशाख ११ र १२ गते “चौथो महाकाल कप २०८२” ह्विलचेयर बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। देशभर शाखा फैलिएको यस समूहको केन्द्रीय कार्यालयले प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगिता काठमाडौं महानगरपालिका–४, चण्डोलस्थित विशाल मिलन केन्द्रको बास्केटबल कोर्टमा हुनेछ। सोमबार एक पत्रकार सम्मेलन गर्दै आयोजकले खेलसम्बन्धी सम्पूर्ण जानकारी सार्वजनिक गरेका हुन्।

खेल दुई विधामा—महिला र पुरुष—सञ्चालित हुनेछ। कुल १३ टिम सहभागी हुनेछन्, जसमा ९ पुरुष र ४ महिला टिम छन्। महाकाल समूहका महासचिव मनिष विश्वकर्माले प्रतियोगितामा करिब २०० जना खेलाडी तथा व्यवस्थापकको सहभागिता रहने जानकारी दिए।

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने टिम र खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
– विजेता टिमलाई नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र
– उपविजेतालाई १५ हजार रुपैयाँ
– सान्त्वना पुरस्कार स्वरूप १० हजार रुपैयाँ
– उत्कृष्ट खेलाडी र हाई स्कोररलाई छुट्टाछुट्टै २ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ
महिला र पुरुष दुवै विधामा एउटै पुरस्कार संरचना लागू गरिनेछ।

प्रतियोगिता अवधिमा विविध सांस्कृतिक कार्यक्रम तथा संगीत प्रस्तुतिहरू पनि हुनेछन्। चर्चित गायक दुर्गेश थापा, अभिनेत्री श्वेता खड्का, एलिजा गौतम, कलाकार माया थामी, रिना थापा मगर, अस्मिता रानापाल, मुकेश नेपाली, अञ्जु सुनार, कृष्ण मगर लगायत दर्जनभन्दा बढी कलाकारहरूको प्रस्तुति रहनेछ।

जय महाकाल युवा समूह सामाजिक सेवा कार्यमा पनि सक्रिय रहँदै आएको छ। “भोकालाई भोजन, प्याशालाई पानी” भन्ने नाराका साथ समूहले देशभर निःशुल्क भोजन तथा पानी वितरण गरिरहेको छ। विशेष गरी काठमाडौँको पशुपति क्षेत्र, गोङ्गाबु लगायत स्थानहरूमा नियमित रुपमा सेवा प्रवाह गर्दै आएको छ।

महाकाल समूहका अध्यक्ष लिननाथ भण्डारीले प्रतियोगितामा करिब ९ लाख रुपैयाँ खर्च हुने बताउँदै प्रायोजकहरूको पर्याप्त साथ नपाएकोप्रति चिन्ता व्यक्त गरे। “तर पनि हामीले सहभागी सबै खेलाडी तथा व्यवस्थापकलाई यातायात, आवास र खानाको पूर्ण व्यवस्थापन गरेका छौं,” उनले भने। अघिल्लो वर्ष महिला टिमको सहभागिता नदेखिए पनि यो वर्षदेखि महिला टिमलाई समेत प्राथमिकता दिइएको छ।

नेपाल आर्मी र एपिएफजस्ता विभागीय टिमहरूको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

महाकाल समूहद्वारा आयोजित चौथो महाकाल कप २०८२ न केवल खेलकुद प्रवर्द्धन गर्ने उद्देश्य बोकेको छ, तर भूकम्प पीडितप्रति श्रद्धाञ्जली अर्पण र सामाजिक उत्तरदायित्वको उदाहरण पनि हो।

Facebook Comments Box