कृष्णपुरमा निःशुल्क शिक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

भरत बहादुर थापा
कञ्चनपुर: अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७ को प्रभावकारी कार्यान्वयनबारे स्थानीय तह र शिक्षा क्षेत्रका सरोकारवालाबीच साझा समझदारी विकास गर्ने उद्देश्यले कृष्णपुर नगरपालिकामा एक दिने प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ।

सामाजिक विकास कार्यालय, कञ्चनपुरको आयोजनामा सम्पन्न कार्यक्रम बुधबार कृष्णपुर नगरपालिकाको सभा हलमा आयोजित गरिएको थियो। कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहका प्रतिनिधिहरू, सामुदायिक तथा संस्थागत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, शिक्षा क्षेत्रका विज्ञहरू तथा विभिन्न सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा कृष्णपुर नगर पालिका का प्रमुख हेमराज ओझा तथा सभापतित्व सामाजिक विकास कार्यालयका प्रमुख गोपाल दत्त जोशीले गरेका थिए। विशिष्ट अतिथिको रूपमा कृष्णपुरकी उप-प्रमुख द्रोपती राना र कृष्णपुरका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टको उपस्थिति रहेको कार्यक्रममा विभिन्न वडाबाट वडा अध्यक्षहरू मोहन बस्नेत, धर्म बहादुर सिंह, टेक पाण्डेय, बाबूराम चौधरी, घुम्मन राना, खेम चौधरी, दिनेश खड्का, कैलाश बलायर लगायत सहभागी थिए।

कार्यक्रमको मूल उद्देश्य अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी कानुनी प्रावधानहरूको जानकारी दिनु, कार्यान्वयनमा देखा परेका व्यवहारिक चुनौतीहरूको पहिचान गर्नु र समाधानका उपायहरूमा सामूहिक छलफल गर्नु थियो। कार्यक्रममा अनिवार्य शिक्षाको महत्व, बालबालिकाको शिक्षा पाउने अधिकार, स्थानीय तहको भूमिका, विद्यालय व्यवस्थापन समितिको कार्यक्षेत्र, शिक्षकहरूको दायित्व, र निःशुल्क शिक्षाको व्यवहारिक कार्यान्वयनका विषयमा विज्ञहरूले विस्तृत प्रस्तुतीकरण दिएका थिए।

समूहगत छलफलमार्फत सहभागीहरूले कार्यान्वयनमा देखिएका चुनौतीहरू – स्रोतसाधनको अभाव, शिक्षकको क्षमता अभिवृद्धिको आवश्यकता, समुदायको न्यून सहभागिता, र प्रभावकारी अनुगमन प्रणालीको अभावजस्ता विषयमा विचार आदानप्रदान गरेका थिए।

कार्यक्रमको समापन गर्दै सामाजिक विकास कार्यालयका प्रमुख जोशीले अनिवार्य तथा निःशुल्क शिक्षाको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता र समन्वय अपरिहार्य रहेको बताउँदै आगामी दिनमा सुझावहरूलाई आत्मसात् गरी थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कृष्णपुरका नगर प्रमुख हेमराज ओझाले शिक्षालाई आफ्नो प्राथमिकतामा राखेको नगरपालिकाको दृष्टिकोण स्पष्ट पार्दै कानुनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।

नगरपालिका सभाहलमा आयोजित एक दिने कार्यक्रममा सहभागीहरूको धारणा अनुसार, यस किसिमको प्रवर्धनात्मक कार्यक्रमले शिक्षा सम्बन्धी कानुनी प्रावधानको ज्ञान अभिवृद्धि गर्नुका साथै सरोकारवालाबीच उत्तरदायित्व र समन्वयको भावना बलियो बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Facebook Comments Box