कञ्चनपुर: कृष्णपुर नगरपालिकामा हालै सम्पन्न शिक्षक दरबन्दी मिलान प्रक्रियाले फेरि एकपटक शैक्षिक क्षेत्रमा अन्याय र अनियमितताको शंका जन्माएको कृष्णपुरका एमाले नेता गणेश सिह ऐरीको आरोप छ। २०६५/६६ सालदेखि कार्यरत २१-२५ जना शिक्षकको दरबन्दी मिलानमा अनदेखि हुँदा उनीहरू आफूलाई ‘अलग नक्षत्रका’ जस्तै महसुस गरिरहेका एमाले नेता ऐरीले बताए।
शिक्षकहरूको अनुभव, योगदान र दीर्घकालीन सेवाको कुनै मूल्यांकन नगरी गरिएको मिलान प्रक्रियाले उनीहरूमा निराशा र आक्रोश फैलिएको छ। “हामी वर्षौंदेखि एउटै विद्यालयमा काम गर्दै आएका छौं, तर अहिले आएर कसरी अयोग्य भनिएको हो, त्यो बुझ्न सकेका छैनौं,” एक शिक्षकले बताए।
स्थानीयवासी तथा शैक्षिक अभियन्ताहरूले समेत मिलान प्रक्रियामा पारदर्शिता र विधिपालना नभएको आरोप लगाएका छन्। “शैक्षिक गुणस्तर सुधार्ने नाममा शिक्षकहरूलाई नै आतंकित पार्ने प्रवृत्ति देखिन थालेको छ। नीति, विधि र कानुन एकातिर, कार्यान्वयन अर्कै दिशामा हुनुले अब त अति भइसकेको छ,” उनीहरू भन्छन्।

शिक्षकहरूको दरबन्दी मिलान प्रक्रिया पूर्ण पारदर्शी, न्यायसंगत र तथ्यमा आधारित हुनुपर्ने माग उठ्दैछ। अन्यथा यसको सम्पूर्ण जिम्मेवारी कृष्णपुर नगरपालिकाले लिनुपर्ने नेता ऐरीले सामाजिक सञ्जाल मार्फत चेतावनी दिएका छन्। शिक्षा क्षेत्र विकासको मेरुदण्ड हो। यदि त्यही क्षेत्रमा अनुचित र स्वार्थ प्रेरित निर्णयहरू हाबी भए भने यसको असर केवल शिक्षकमा होइन, सम्पूर्ण शिक्षार्थी तथा भविष्यको पुस्तामा पर्न सक्छ, शिक्षक दरबन्दी मिलानमा एकरुपता नभए नगरपालिकाको स्वार्थ केन्द्रिय निर्णय विरुद्ध नेकपा एमाले आन्दोलन सहित नगरपालिका तालाबन्दी गर्न समेत पछि नहट्ने नेता ऐरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
तर कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझाले शिक्षक दरबन्दी मिलानमा कुनै किसिमको स्वार्थ नरहेको बताएका छन्। हामीले विद्यालय व्यवस्थापन समिती संग समन्वय गरेर शिक्षक सरुवा गरेका हौ, शिक्षकहरुसंगको व्यक्तिगत सम्बन्ध नभई शिक्षकहरुको क्षमता दक्षताका आधारमा नगरपालिकाले शिक्षक दरबन्दी मिलान गरेको हो: नगर प्रमुख ओझाले बताए। कुनै विद्यालयमा राम्रो गरिरहेका शिक्षकलाई त्यही यतावत राखेका छौ, विवादित र सम्बन्धि विषयमा रिजल्ट कमजोर आउने शिक्षकहरुलाई चलाएका छौ, नगरपालिका सामुदायिक विद्यालय बनाउन लागेको छ, एमाले नबनोस भताभुङ होस, आन्दोलन होस, विद्यार्थीले पढन नपाउनु भन्ने चाहन्छ, अरु केही होइन, एमाले सामुदायिक विद्यालय कमजोर बनाउन चाहन्छ, एमालेको नेतृत्वका विगतका गतिविधि हामीले देखेका छौं, पार्टीगत शिक्षक संगठन लाई अगुवा बनाएर एमाले ले नगरपालिकाको सकारात्मक निर्णयलाई अनावश्यक बहसको बिषय बनाउन खोजेको छ: हामीले बुझेका छौ, जनताले बुझेका छन्: नगर प्रमुख हेम राज ओझाले बताएका छन्।