शुक्लाफाँटाको तीन वर्षे कार्य प्रगति सार्वजनिक, पूर्वाधार विकासमा उल्लेखनीय फड्को

भरत बहादुर थापा/ई.एन नेपाल डट्कम
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकाले आफ्नो तीन वर्षे कार्यकालको प्रगति सार्वजनिक गर्दै पूर्वाधार विकासदेखि सामाजिक सेवासम्मका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेको छ। सोमबार नगर कार्यलयमा आयोजित पत्रकार सम्मेलनमार्फत नगर प्रमुख रणबहादुर महराले विकास निर्माणका कामहरू तीव्र गतिमा अघि बढेको जानकारी दिए।

नगर प्रमुख महराले चुनावी प्रतिवद्धताअनुसार नगरमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा र अन्य भौतिक पूर्वाधारको विकासमा विशेष जोड दिइएको बताए। उनका अनुसार सीमित स्रोतसाधनको समुचित उपयोग मार्फत नगरपालिका समृद्धितर्फ उन्मुख भएको छ।

नगरपालिकाले नयाँ प्रशासकीय भवन निर्माण गरी सेवा प्रवाह सुरु गरेको छ भने नगरस्तरीय र वडा नं. १ बन्साहमा कभर्ड हल निर्माण गरी सञ्चालनमा ल्याएको छ। पछिल्लो तीन वर्षमा मात्रै १९ किलोमिटर सडक ट्रयाक खोलिएको, ४० किलोमिटर ग्राभेल गरिएको, ३३.८ किलोमिटर सडक स्तरोन्नति र ४.१४ किलोमिटर कालोपत्रे सम्पन्न गरिएको महराले जानकारी दिए।

नगर चक्रपथ अन्तर्गत विभिन्न खण्डमा कालोपत्रे गरिनुका साथै नाली निर्माण, तटबन्ध, खानेपानी आयोजना, वडा कार्यालय र स्वास्थ्य भवन निर्माणजस्ता परियोजनाहरू समेत सम्पन्न भएका छन्। शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयहरूमा नयाँ भवन निर्माणसँगै घेरबार, शौचालय र छात्रावास निर्माण कार्यसमेत अगाडि बढाइएको छ।

यस्तै, आधुनिक प्रविधिको प्रयोगसहित फोहोरमैला व्यवस्थापन प्रणाली स्थापना गरिएको छ भने नगरका प्रमुख चौराहाहरूमा सीसीटिभी क्यामेरा जडान गरिएको छ। नगरभित्र निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्न मेशिनरी खरिद गरिएको र निर्माणसामग्री ढुवानीका लागि टिप्पर, ट्रयाक्टर तथा सेप्टिक ट्यांकी सफा गर्ने उपकरण खरिद गरिएको छ।

नगरपालिकाले मणिकाधाम–बतासे झरना जोड्ने ३.५ किलोमिटर पदमार्ग निर्माण गरी पर्यटन प्रवर्द्धनमा समेत योगदान दिएको छ। जंगली जनावरको जोखिम रहेका क्षेत्रमा ७.४५ किलोमिटर मेषवायर घेरबार जडान गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास गरिएको छ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत २५३ जनालाई रु. ३० हजार र १२८ जनालाई रु. ५० हजारका दरले अनुदान प्रदान गरिएको छ। वडा नं. १० को सिमलखेतस्थित दलित बस्तीमा ११ वटा आवास निर्माण भइरहेको छ।

नगरप्रमुख महराले वातावरणमैत्री तथा व्यवस्थित नगर निर्माणतर्फ नगरपालिका प्रतिबद्ध रहेको बताउँदै पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक अधिकार क्षेत्र खाली गरिसकिएको र फोहोर उत्सर्जन शून्यमा झार्ने लक्ष्यसहित फोहोर व्यवस्थापन प्रणालीलाई बलियो बनाइएको बताए।

शुक्लाफाँटा नगरपालिकाको तीन वर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा सहभागी पत्रकार तथा सरोकारवालाहरूले जनउत्तरदायी, पारदर्शी र योजनाबद्ध विकासका प्रयासलाई स्वागत गरेका छन्।

Facebook Comments Box