कञ्चनपुर: कृष्णपुर नगरपालिका द्वारा हालै लागू गरिएको निर्णयअनुसार जनप्रतिनिधि, शिक्षक तथा शिक्षिकाले आफ्ना छोरा छोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। नगरपालिकाको निर्णय पश्चात् स्थानीय जनप्रतिनिधि, शिक्षकहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गराईरहेका छन्।
उक्त निर्णयको पालना गर्दै कृष्णपुर–२ का निर्वाचित वडा सदस्य राजेन्द्र बहादुर सिंहले आफ्ना छोरा सुवर्ण सिंहलाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन्। सोमबार वडा सदस्य सिहले आफ्ना छोरा सुवर्ण सिंहलाई सामुदायिक विद्यालय श्रीकृष्ण माध्यमिक विद्यालय, गुलरिया मा अङ्ग्रेजी माध्यमबाट कक्षा ६ मा भर्ना गरिएको सामाजिक सञ्जाल मार्फत जनाएका छन्।
नगरपालिकाको यो निर्णय सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार तथा सार्वजनिक शिक्षामा विश्वास बढाउने उद्देश्यले गरिएको त्यसमा आफुहरुको समेत ऐक्यबद्धता रहेको वडा सदस्य सिहले जनाएका छन्। वडा सदस्य सिंहले छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराउँदै निर्णयको सम्मान मात्र होइन, स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयनको उदाहरण समेत प्रस्तुत गरेका छन्। कृष्ण मा.वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले सिंह परिवारको यो कदमलाई सराहना गर्दै यसले अन्य जनप्रतिनिधि र शिक्षकहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।