देखतभुलीमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, १४५ जना स्थानीयवासी लाभान्वित

लालझाडी: कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ५ स्थित देखतभुली स्वास्थ्य चौकीमा बिहीबार निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। गेटा अस्पताल, कैलाली र देखतभुली स्वास्थ्य चौकीको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरमा मुटु तथा छाती रोग विशेषज्ञ र स्त्री रोग विशेषज्ञबाट स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिएको हो।

शिविरमा ११५ जना महिला र ३० जना पुरुष गरी कुल १४५ जना स्थानीय नागरिकहरूले सेवा लिएका छन्। स्वास्थ्य सेवा पाउन टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको देखतभुली स्वास्थ्य चौकी प्रमुख लिलाकान्त झाले जानकारी दिए।

उनका अनुसार, “स्थानियको सहज पहुँचका लागि यस्तो शिविर अत्यन्तै प्रभावकारी बन्ने गरेको छ। रोगको प्रारम्भिक अवस्थामै पहिचान गरी उपचार गर्न सहज हुने भएकाले नियमित रूपमा यस्ता कार्यक्रम आवश्यक छन्।”

वडा अध्यक्ष पहल बहादुर थापाले पनि स्थानीयस्तरमा यस्ता शिविरले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। “स्वास्थ्य अधिकार सबै नागरिकको मौलिक अधिकार हो, यसलाई व्यवहारमा उतार्न स्थानीय सरकार सधैं प्रतिबद्ध छ,” उनले भने।

शिविरमा सहभागी नागरिकहरूले सहज र गुणस्तरीय सेवा पाएको अनुभव सुनाएका छन्। उनीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिन माग समेत गरेका छ।

Facebook Comments Box