कृष्णपुरमा स्कुल डान्स सिजन–२ हुने: विद्यार्थीहरूका लागि नृत्य प्रदर्शनको सुनौलो अवसर

गुलरिया: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अवस्थित कलाकार डान्स स्टुडियो र द ड्रीम डान्स स्टुडियोको संयुक्त आयोजनामा नगर स्तरीय स्कुल डान्स प्रतियोगिता सिजन–२ सुरु हुन लागेको छ। गत वर्ष २०८१ सालमा सफलतापूर्वक सम्पन्न सिजन–१ पछि, यस वर्ष पनि कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको हो।

कार्यक्रम संयोजक प्रकाश धिक्तका अनुसार, प्रतियोगिताको स्कुलस्तरीय छनोट कार्यक्रम २०८२ साल जेठ १६ गते (२०२५ मे ३०) देखि सुरु हुनेछ। यसका लागि कृष्णपुर नगरपालिकाभित्रका सबै निजी तथा सामुदायिक विद्यालयहरूलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम स्थान प्राप्त गर्नेले नगद ८,१५१ रुपैयाँ, द्वितीयले ५,१५१ रुपैयाँ, र तृतीयले ४,१५१ रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस कार्यक्रमले विद्यार्थीहरूमा नृत्यप्रतिको रुचि बढाउने र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

कृष्णपुर नगरपालिकामा यसअघि पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना हुँदै आएका छन्। यस्ता सास्कृतिक कार्यक्रमहरूले स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका छन्।

डान्स प्रतियोगिता सिजन–२ को सफलताका लागि आयोजक संस्थाहरूले विद्यालयहरू, अभिभावकहरू, र विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। यस प्रतियोगिताले स्थानीय स्तरमा लुकेका नृत्य प्रतिभाहरूलाई उजागर गर्ने र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

Facebook Comments Box