कञ्चनपुर: अपांगता भएका व्यक्तिहरुको सीप विकास तथा आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले कृष्णपुर नगरपालिका अन्तर्गत पाँच दिने “सीपमूलक फास्टफुड तयारी तालिम” सम्पन्न भएको छ।
तालिम जेठ ५ गतेदेखि ९ गतेसम्म गुलरियास्थित हरियाली वन सभाहलमा सञ्चालन गरिएको हो। कार्यक्रमको अध्यक्षता कृष्णपुर अपांगता सरोकार संघका अध्यक्ष विष्णु देव जोशीले गरेका थिए भने प्रमुख अतिथि कृष्णपुर नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख माला गौतम रहेका थिए। साथै नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) का कार्यक्रम संयोजक रामेश्वर जैरु, वल्र्ड भिजनका जिल्ला संयोजक सुरज शर्मा लगायतको उपस्थिति रहेको थियो।

तालिममा नगरपालिकाभित्रका १५ जना अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो। कार्यक्रम संयोजक जैरुका अनुसार तालिमका लागि कृष्णपुर नगरपालिकाबाट १ लाख र NNSWA कञ्चनपुरबाट १ लाख ७५ हजार गरी कुल २ लाख ७५ हजार रुपैयाँको बजेट व्यवस्थापन गरिएको थियो। तालिम बाल संरक्षण तथा स्पोन्सर्सिप परियोजनामार्फत सञ्चालन गरिएको हो।
फास्टफुड तयारी सम्बन्धि व्यावसायिक सीप प्रदान गर्ने उक्त तालिममा प्रशिक्षकको भूमिका अंकित भण्डारीले निर्वाह गरेका थिए। तालिमपछि सहभागीमध्ये योग्य र इच्छुक व्यक्तिहरुलाई फास्टफुड व्यापार व्यवसाय सुरु गर्न आवश्यक सामग्री र परामर्शमार्फत थप सहयोग गरिने कार्यक्रम संयोजक जैरुले जानकारी दिए।
आयोजक संस्थाका अनुसार, यस्ता तालिमले अपांगता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउँदै रोजगारीको अवसर सिर्जना गर्ने विश्वास लिइएको छ। तालिमका सहभागीहरुले तालिम उपयोगी र व्यावहारिक भएको प्रतिक्रिया दिएका छन्।
तालिम सहभागीले अब आत्मनिर्भर बन्न सहज हुने साथै तालिम निकै उपयोगीमुलक रहेको बताएका छन्। तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ। तालिम पश्चात् अब व्यापार व्यावसाय गर्न सजिलो हुने रोजगारीको श्रीजना हुने महिला शाखा प्रमुख गौतमले बताएका छन्। यी यस्ता खाले तालिम अझै निरन्तर चलिरहने NNSWA ले जनाएको छ। पक्कै पनि अपाङ्गता भएका व्यक्तिको जीवन परिवर्तनमा निकै फलदायी हुने नगरपालिकाले अपेक्षा लिएको छ।