भूमिहीन, सुकुम्बासीका लागि राहत: ऐलानी जमिन नापजाँच कार्य प्रारम्भ

कञ्चनपुर: भीमदत्त नगरपालिका–१३, कञ्चनपुरमा ऐलानी जमिन नापजाँच सुरु गरिएको छ। वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास) को नेतृत्वमा, वडाको दक्षिणी क्षेत्र हात्तीसारबाट मंगलबारदेखि नापजाँच प्रक्रिया सुरु भएको हो। वडाध्यक्ष बोहराले भूमिहीन, सुकुम्बासी, र अव्यवस्थित बसोबासी नागरिकलाई जमिनको स्वामित्व दिलाउने प्रतिबद्धता जनाएका छन्।

उनका अनुसार, मेयर पदम बोगटीको निर्देशनअनुसार वडामा यसअघि विवरण भरेका अव्यवस्थित बसोबासीको जमिन नापजाँच सुरु गरिएको हो। त्यसपछि भूमिहीन दलित र सुकुम्बासीका लागि जमिन खोज्ने योजना रहेको छ। वडाध्यक्षले चुनावी प्रतिबद्धता अनुसार जनतालाई जमिनको मालिक बनाउने संकल्प व्यक्त गरेका छन्।

वडा सचिव हर्क बहादुर धामीका अनुसार, यसअघि भूमिहीन दलिततर्फ १३, सुकुम्बासी तर्फ ३, र अव्यवस्थित बसोबासी तर्फ ३१८ जनाले फारम भरेका थिए। नापजाँचको काम सुरु भएसँगै जग्गाधनी प्रमाणपत्र वितरणका लागि प्रक्रिया अघि बढ्नेछ।

भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले भीमदत्त नगरपालिका–१३ ले भूमि सम्बन्धी समस्या समाधान गर्न अग्रसर हुनुपर्नेमा जोड दिएका छन्। आयोगका केन्द्रीय अध्यक्ष हरि प्रसाद रिजालले देशभर आयोगले तीव्र रूपमा जमिनको कामकाज अघि बढाएको बताउँदै नापजाँचसँगै लालपुर्जा वितरण गरिने बताएका छन्।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले नगरका सबै भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी, र भूमिहीन दलितलाई जमिनको मालिक बनाउने प्रतिबद्धता जनाएका छन्। उनले नगरपालिका संयन्त्रसहित सबै वडा जिम्मेवार निकायलाई भूमिको समस्या समाधानतर्फ गम्भीर भएर काम गर्न आग्रह गरेका छन्।

यसअघि भूमि आयोग कञ्चनपुरले दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी लगायतका भूमिहीन जनतालाई लालपुर्जा वितरण गरेको थियो। हात्तीसार गाउँदेखि सुरु गरिएको नापजाँचसँगै भीमदत्त नगरपालिका–१३ का भूमिहीन जनता जमिनको मालिक बन्ने आशामा छन्।

Facebook Comments Box