सडक दुर्घटनामा कृष्णपुरका २३ वर्षीय युवकको मृत्यु

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बुधबार राति कृष्णपुर नगरपालिका–२, वाणीस्थित ४ नम्बर गल्ली नजिक भित्री सडकमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक २३ वर्षीय आशिक रानाको उपचारको क्रममा मृत्यु भएको हो। राना वाणी शिविरका बासिन्दा हुन्। से ३ प ४९७५ नम्बरको मोटरसाइकलमा सवार राना र अर्का १७ वर्षीय विक्रम चौधरी गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि दुबै घाइतेलाई उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। तर, चालक रानाको राति ९ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइते चौधरीको अस्पतालमा उपचार जारी रहेको छ।

ट्याक्टर (से २ त २५३) उत्तरबाट दक्षिणतर्फ आउँदै गर्दा र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्याक्टर चालक कृष्णपुर नगरपालिका–४, बेलकुण्डीका ४५ वर्षीय तेज बहादुर डगौँरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box