गुलरिया: कृष्णपुर नगरपालिकामा बालबालिकाको उद्घोषण क्षमता र नेतृत्व विकासका लागि सात दिने तालिम सुरु गरिएको छ। नगर स्तरीय बाल सञ्जालको आयोजनामा र कृष्णपुर नगरपालिकाको सहकार्यमा बिहीबारदेखि तालिमको औपचारिक उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा बाल सञ्जालका अध्यक्ष अशोक सिंह धामीले सभाध्यक्षता गरेका थिए भने प्रमुख अतिथि नगरप्रमुख हेमराज ओझा, विशिष्ट अतिथि उपप्रमुख द्रोपती राना, विभिन्न वडा अध्यक्षहरू, नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका प्रतिनिधिहरू, उद्घोषक केपी कलौनी तथा स्थानीय बालबालिकाको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष धामीले विद्यालयस्तरका बालबालिकालाई उद्घोषण क्षेत्रमा दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार नगरभित्रका २६ वटा माध्यमिक विद्यालयबाट दुई–दुई जना विद्यार्थी र २० जना बालसञ्जालका प्रतिनिधिसहित ७२ जना सहभागी तालिममा संलग्न छन्। तालिममा सुदूरपश्चिम क्षेत्रका चर्चित उद्घोषकहरू डा. टी.एन. जोशी, केपी कलौनी, प्रेरणा पाण्डेय र प्रेम बोगटीले प्रशिक्षण दिनेछन्। तालिम जेठ ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ।
नगरप्रमुख ओझाले बालमैत्री समाज निर्माणका लागि बालबालिकाको सशक्तिकरण आवश्यक रहेको उल्लेख गर्दै बालकोषको स्थापना गरिएको जानकारी दिए। उनले चालु आर्थिक वर्षमा कोषमा बजेट विनियोजन गरिसकिएको र आगामी वर्षमा पनि बालबालिकासम्बन्धी कार्यक्रम त्यही कोषबाट सञ्चालन गरिने बताए।

महिला तथा बालबालिका शाखाका प्रतिनिधि चन्द्रा तिमिल्सिनाले तालिमको उद्देश्यबारे प्रकाश पारेकी थिइन्। कार्यक्रममा स्वागत मन्तव्य निराजन जोशीले दिएका थिए भने उद्घाटन समारोहको सञ्चालन टेकराज जोशीले गरेका थिए।