कञ्चनपुर: कृष्णपुर नगरपालिका २ वाणीमा रहेका स्थानीय उपभोक्ताहरुलाई अब शुद्ध पिउने पानीको अभाव नहुने भएको छ; किनकी श्री वाणी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले नयाँ डिप बोरिङ जडानको कार्य औपचारिक रूपमा सुरु गरेको छ।
विगतमा सञ्चालित दुई बोरमध्ये एक बिग्रिएर उक्त बोरमा धमिलो पानी आउने भएको र पानी सञ्चालनका लागि एक बोर मात्रै भएकोले कुनै दिन अर्को बोरमा पनि समस्या देखिएमा उपभोक्ताहरुलाई पानीको समस्या हुनसक्ने सम्भावना देखिएकाले नयाँ बोर जडान कार्य थालिएको हो।
सुदूरपश्चिम प्रदेश उपसभामुख कोईली देवी चौधरीको विशेष पहलमा भौतिक तथा पूर्वाधार मन्त्रालयबाट २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त बजेटको टेन्डर प्रक्रियाबाट जय श्री बालाजी निर्माण तथा ड्रिलिङ प्रा.लि. लाई जिम्मेवारी दिइएको हो।
समितिका सचिव केशव नाथ ‘करन’ का अनुसार निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ भने समितिका अध्यक्ष गगन भारती ले उपभोक्तालाई निरन्तर शुद्ध पिउने पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। “समाजसेवी रामप्रसाद चौधरी र छपेन्द्र नाथको विशेष सहयोगमा हामी बोर जडानको कार्य सुरु गर्न सफल भयौं,” अध्यक्ष भारतीले बताए।

हाल वाणी खानेपानी योजनाअन्तर्गत ४ सयभन्दा बढी धारा जडान भइसकेको र ८ सय उपभोक्ता सदस्य रहेको खानेपानी समितिले बताएको छ। नयाँ बोरिङ सम्पन्न भएपछि खानेपानी वितरण प्रणाली थप सुदृढ हुने समितिको विश्वास छ। यस परियोजनाले वाणी क्षेत्रका बासिन्दालाई दीर्घकालीन रूपमा सुरक्षित र शुद्ध खानेपानी सुनिश्चित गर्ने आशा गरिएको छ। वाणी खानेपानी समिती २०७२ सालमा स्थापन भएको थियो।