भरत बहादुर थापा/सिहपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले दोस्रोपटक आयोजना गर्न लागेको ‘मेयर कप फुटबल प्रतियोगिता २०८२’ आज शनिवार उद्घाटन गरिएको छ। “हाम्रो सामूहिक गोल: लागू पदार्थ दुर्व्यसनको अन्त्य” भन्ने नारासहित प्रतियोगिता कृष्णपुर–०६ स्थित सिंहपुर सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आजदेखी सुरु भएको हो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम र खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टिमले ५१ हजार १५१ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार १३१ रुपैयाँसहित यस्तै सम्मान पाउनेछ। यस्तै, सेमिफाइनल पुग्ने दुई टिमले जनही ११ हजार १११ रुपैयाँको सान्त्वना पुरस्कार प्राप्त गर्नेछन्।

व्यक्तिगत प्रदर्शनमा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि प्रोत्साहन स्वरूप पुरस्कार दिइनेछ। उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलकिपर र फरवार्डलाई जनही १ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। प्रतियोगिताभर सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडी (MVP) लाई २ हजार रुपैयाँ नगद र ट्रफी दिइनेछ भने प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले आकर्षक उपहार प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमले १६ जना खेलाडी, १ जना टिम म्यानेजर र १ जना कोचसहित १८ सदस्यीय टिम दर्ता गर्नुपर्नेछ। खेलाडीहरूले अनिवार्य रूपमा नेपाली नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र फोटो पेश गर्नुपर्नेछ। साथै, खेलाडीहरू सम्बन्धित वडाका स्थायी बासिन्दा हुनुपर्दछ र वडा कार्यालयको सिफारिस अनिवार्य हुनेछ।
खेल सञ्चालन फिफाको “Laws of the Game” अनुसार हुनेछ। सहभागी सबै खेलाडीहरूसँग जर्सी, फुटबल शु, सिन प्याड र मोजा अनिवार्य हुनुपर्नेछ। प्रतियोगिता लिग चरणको आधारमा सञ्चालन गरिनेछ, जसमा विभिन्न टिमबीच प्रतिस्पर्धा हुँदै उत्कृष्ट टिमहरू नकआउट चरणमा पुग्नेछन्।
नगरपालिकाले खेलकुदमार्फत युवा ऊर्जा सक्रिय बनाउँदै समाजमा लागू पदार्थ दुव्र्यसनविरुद्ध सकारात्मक सन्देश फैलाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरेको जनाएको छ। प्रतियोगिताका सभाअध्यक्ष कृष्णपुरका नगर प्रमुख हेम राज ओझा रहेका थिए भने प्रतियोगिताको उद्घाटन समाजिक विकास मन्त्री मेघराज खड्काले गरेका थिए त्यस्तै विशिष्ट अतिथी प्रदेश सभा सदस्य ओम विक्रम भाट’सरल’, प्रदेश सभा सदस्य गिता चौधरी, कृष्णपुर नगर उप प्रमुख द्रोपती राना, वडा अध्यक्षहरु, कार्यापालिका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीय खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।
प्रतियोगिताको उद्घाटन खेल कृष्णपुर ६ र कृष्णपुर ७ बिच भएको र १/१ गोलको बराबरीका साथ खेल ड्र भएको छ। भोली का खेलहरु कृष्णपुर-२ र कृष्णपुर ३ बीच दिउसो ४:०० बजे र कृष्णपुर-९ र कृष्णपुर-४ बीच साझ ५:३० बजे सञ्चालन हुने आयोजक कमिटीले जनाएको छ। प्रतियोगिताको फाईनल प्रतिस्पर्धा भने जेठ २५ गते हुने छ।