कञ्चनपुर: पावरटिलर मेसिन दिने भन्दै कैलाली र कञ्चनपुरका हजारौं किसानसँग ठगी गरेको आरोपमा ‘सुरो नेपाल’की अध्यक्ष सुशिला खड्का ओझा पक्राउ परेकी छन्। उनका साथ धनगढीको बंग्रास्थित घर भएकी सुनिता चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू दुबैले विभिन्न किसानसँग पावरटिलर दिने प्रलोभनमा परेर रकम असुल गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार, किसानहरूको उजुरीका आधारमा दुवै जनालाई काठमाडौँबाट शनिबार पक्राउ गरी कञ्चनपुर ल्याइएको हो। प्रहरीका अनुसार, सुशिला खड्काले विभिन्न व्यक्ति, समूह र सहकारीमार्फत प्रत्येक किसानबाट ५० हजारदेखि १ लाख ३० हजार रुपैयाँसम्म उठाउँदै आएकी थिइन्। तर, उठाइएको रकमबापत अहिलेसम्म कुनै पनि किसानलाई पावरटिलर नदिएको खुलेको छ।
उक्त समूहले हालसम्म हजारौं किसानबाट करोडौं रकम संकलन गरेको आशंका गरिएको छ। किसानहरूलाई कृषि यन्त्र उपलब्ध गराउने सपना देखाएर ठगी गरिएको भन्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका किसानहरूले प्रहरीमा उजुरी दिएका थिए।