सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचारको मुद्दा

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री (हाल प्रदेशसभा सदस्य) दीर्घ बहादुर सोडारीमाथि एक करोडभन्दा बढीको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार, सोडारीले सार्वजनिक पदमा रही रु. १,०८,३८,३०२।५७ (एक करोड आठ लाख अठ्तीस हजार तीनसय दुई रुपैयाँ सन्ताउन्न पैसा) को गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्धा दायर गरिएको हो।

अख्तियारका अनुसार, सोडारीले २०७४ साल माघ ७ देखि २०७९ साल फागुन १० गतेसम्म सार्वजनिक पद सम्हाल्दासमेतको समयमा विभिन्न शीर्षकमा रु. ८५ लाख ५१ हजार ३३४।९२ मात्र वैध आय देखाउन सकेका थिए। सो अवधिमा उनले जग्गा खरिद, घर निर्माण, छोरीको अध्ययन खर्च, श्रीमती सञ्चालित उद्योगमा लगानी, छोराको विवाह, शेयर खरिद लगायतमा करिब रु. १ करोड ९३ लाख ८९ हजार ६३७।४९ खर्च गरेको देखिएको छ।

उक्त खर्च र लगानीले वैध आम्दानीभन्दा रु. १ करोड ८ लाख बढीको अन्तर देखिएकोले सो सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको आयोगको निष्कर्ष छ।

सोडारीले आर्जन गरेको शंकास्पद सम्पत्तिबाट श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा घर, जग्गा तथा बैंक मौज्दात राखिएको पाइएकोले ती सम्पत्ति जफत गर्न उनीहरूलाई पनि मुद्दामा प्रतिवादीको रूपमा समावेश गरिएको आयोगले जनाएको छ।

सोडारीले सम्पत्ति विवरण बुझाउँदा वास्तविक सम्पत्ति लुकाएर झुटा विवरण दिएको प्रमाणित भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६, २०, २४, र ४७ साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम कैद, जरिवाना र सम्पत्ति जफतको माग गर्दै मुद्दा दायर गरिएको हो।

दीर्घ बहादुर सोडारीले सुदूरपश्चिम प्रदेशमा सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री हुँदै मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। हाल उनी प्रदेशसभा सदस्यको रूपमा कार्यरत छन्।

Facebook Comments Box