देखतभुली: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ३ मा जेठ १९ गतेदेखि जग्गा नापजाँच (फिल्ड भेरिफिकेसन) कार्यको औपचारिक शुभारम्भ गरिएको छ। विगतका आयोग, समिति र कार्यदलबाट अधुरा रहेका कामहरू सम्पन्न गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानले स्थानीय भूमि समस्या समाधानमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हेम राज ओझाले स्थानीय सरकार विगतका अधुरा कार्यहरू पूर्ण गर्न प्रतिबद्ध रहेको बताउँदै, यस कार्यले भूमि समस्याबाट पीडित नागरिकलाई राहत मिल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा भूमि समस्या समाधान आयोग कञ्चनपुरका जिल्ला अध्यक्ष नेत्र प्रकाश पन्त, जिल्ला सदस्य दिल बहादुर देउवा लगायतको विशेष उपस्थिति रहेको थियो। वडा नं. ३ का वडा अध्यक्ष खेम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयवासी, आयोगका कर्मचारी प्रतिनिधिहरू तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।
वडा नं. ३ का सेतो पुर्जा प्राप्त ९१ जनाको निवेदन अनुसार आयोगको कार्यविधि अनुरूप वास्तविक जग्गा धनी प्रमाण पुर्जा वितरणको लागि औपचारिक रुपमा काम सुरु गरिएको छ। यो आर्थिक वर्ष भित्र पुर्जा वितरण गर्ने गरि काम तीव्र रुपमा अघि बढाइने जानकारी नगर प्रमुख ओझा र आयोग अध्यक्ष पन्तले दिए।

वडा अध्यक्ष चौधरीले फिल्ड भेरिफिकेसन कार्य सफलतापूर्वक सम्पन्न गर्न वडा कार्यालयको पूर्ण सहयोग रहने स्पष्ट पारेका थिए। स्थानीय सरकार, आयोग र सरोकारवालाको समन्वयमा अघि बढाइएको यो अभियानले भूमि समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।