कञ्चनपुरको बेदकोट–८ मा पुनः जग्गा नापजाँच सुरु, ११० किसानलाई लालपुर्जा वितरण हुने

महेन्द्रनगर: कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा ऐलानी जग्गाको नापजाँच कार्य पुनः सुरु गरिएको छ। भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व दिलाउन भूमि समस्या समाधान आयोगले वडा कार्यालयसँग समन्वय गरी मंगलबारदेखि पुनः नापजाँच थालिएको हो।

बेदकोट नगरपालिका–८ का वडाध्यक्ष महेशराज जोशीले यसअघि पनि केही क्षेत्रको नापजाँच भइसकेको र अहिले अधुरा काम पुनः सुरु गरिएको जानकारी दिए। “जमिन भएर पनि स्वामित्व प्रमाण नभएका नागरिकलाई अब जग्गाको कानुनी मालिक बनाउने कार्य तीव्र पारिएको छ,” उनले भने।

गत वर्ष ८३ जना किसानलाई लालपुर्जा वितरण गरिएकोमा, यस वर्ष थप ११० जनालाई वितरण गरिने तयारी गरिएको छ। जोशीका अनुसार विगत झण्डै ६ दशकदेखि लालपुर्जाविहीन अवस्थामा रहेका स्थानीयलाई क्रमिक रूपमा स्वामित्व प्रदान गरिँदैछ। उनले चुनावी प्रतिबद्धताअनुसार बेदकोट–८ मा जमिन समस्या समाधानको कार्य तिब्र पारिएको उल्लेख गरे।

वडामा हालसम्म ४६९ अव्यवस्थित बसोबासी, ६ जना भूमिहीन दलित र ३ जना सुकुमबासीले फारम भरेका छन्। पहिलो चरणमा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिनेछ भने दोस्रो चरणमा दलित तथा सुकुमबासीलाई जमिन खोजेर वितरण गरिने योजना रहेको वडाध्यक्ष जोशीले जानकारी दिए।

“जनतालाई जमिनको स्वामित्व दिएपछि उनीहरूले राज्यलाई कर बुझाउनेछन् र त्यसबाट राज्यको आम्दानी स्थायी रूपमा बढ्नेछ,” जोशीले भने, “यस कार्यले जनता र राज्य दुवैलाई समृद्ध बनाउनेछ।”

भूमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य दिल बहादुर देउवाले विगतमा राजनीतिक अस्थिरताका कारण रोकिएको कार्यलाई पुनः सुरु गरिएको बताए। “अब पुनः प्रमाणिकरण गरेर जनतालाई छिटो लालपुर्जा वितरण गरिन्छ,” उनले बताए।

बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले नगरका सबै १० वटै वडामा भूमिहीन नागरिकलाई “मुस्कानसहितको लालपुर्जा” वितरण गरिने प्रतिबद्धता व्यक्त गरे। “बेदकोट–८ सँगै अन्य वडामा पनि जमिन समस्या समाधान प्रक्रिया अघि बढाइएको छ,” उनले भने।

स्थानीय शंकरनाथले भने, “हामी २०१८ सालदेखि यहीँ बस्दै आएका हौँ, अहिलेसम्म लालपुर्जा पाएका थिएनौं। तर अब हामी जमिनको कानुनी मालिक बन्ने आशामा छौं।”

भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तका अनुसार बेदकोट–८ मात्र होइन, दोधारा चाँदनी, भीमदत्त, शुक्लाफाँटा, कृष्णपुर र लालझाडी क्षेत्रमा पनि पुनः नापजाँच प्रक्रिया सुरु गरिएको छ। अध्यक्ष पन्तले आयोगले पहिल्यै गरेको कामको स्वामित्व लिएर बाँकी कार्य सम्पन्न गरी समयमै लालपुर्जा वितरण गरिने जानकारी दिए। जिल्लाभर पुनः नापजाँच कार्य सुरु भएपछि भूमिहीन जनतामा उत्साह र आशा पलाएको छ।

Facebook Comments Box