नरेश राना/विनवारी: कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १, विनवारी निवासी २२ वर्षीय प्रितम राना भारतबाट घर फर्कने क्रममा सम्पर्कविहीन भएका छन्। प्रितम विगत केही वर्षदेखि रोजगारीका लागि भारतको हिमाचल प्रदेशस्थित सिल्सिमा लहुलमा कार्यरत थिए।
उनका पिता भान सिंह रानाका अनुसार प्रितम जेठ १७ गते घर फर्कने तयारीमा थिए र चन्डीगढ़सम्मको यात्रा गरेका थिए। चन्डीगढ़मा पुगेपछि उनले परिवारसँग सम्पर्क गरेका थिए, तर त्यसयता उनलाई सम्पर्क गर्न नसकिएको परिवारले जनाएको छ। मोबाइल फोन बन्द रहेको र सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट पनि कुनै जानकारी नआएकोले परिवार चिन्तित बनेको छ।
“उनी नियमित रूपमा सम्पर्कमा रहन्थे, तर यो पटक चन्डीगढ़पछि पूर्ण रूपमा सम्पर्कविहीन भएका छन्। हामी निकै डराएका छौं,” प्रितमका बाबु भान सिंहले भने।
परिवारले प्रितमको खोजीका लागि स्थानीय निकाय, प्रहरी प्रशासन तथा भारतस्थित नेपाली समुदायलाई सहयोगको अनुरोध गरेको छ। साथै, उनलाई देख्ने वा बारेमा केही जानकारी हुने जो–कोहीले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरिएको छ।

सम्पर्कविहीन प्रितम राना केही महिनाअघि मात्र बिदामा घर आएका थिए र पुनः रोजगारीका लागि भारत फर्किएका थिए। अबको बिदामा स्थायी रूपमा घर फर्किने तयारीमा रहेको परिवारले बताएको छ। यस घटनाले सीमावर्ती क्षेत्रमा रोजगारीका लागि भारत जाने नेपाली युवाहरूको सुरक्षाको विषय पुनः उठाएको छ।