भरत बहादुर थापा/शंकरपुर: राष्ट्रिय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियानअन्तर्गत कञ्चनपुरको लालझाडी गाउँपालिकाले लक्षित उमेर समूहका सबै बालबालिकाले नियमित रूपमा खोप सेवा प्राप्त गरेको पुष्टि भएपछि यसलाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” प्राप्त गाउँपालिका घोषणा गरिएको छ।
जिल्ला पूर्ण खोप समन्वय समिति कञ्चनपुरका संयोजक दुर्गादत्त बोहराले आज गाउँपालिका अध्यक्ष निर्मल रानालाई औपचारिक प्रमाणपत्र हस्तान्तरण गर्दै यो उपलब्धि घोषणा गरे। उनले यो अभियानमा सहभागी हुने स्थानीय निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक र समुदायको सामूहिक प्रयासलाई सराहना गरे।
गाउँपालिका अध्यक्ष निर्मल रानाले यो उपलब्धि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय निकाय र समुदायको ऐक्यबद्धताको परिणाम बताए। उनले भने, “यसले हाम्रो सामूहिक प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ।”
कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशी, गाउँपालिका प्रशासक राजबहादुर सार्की, पत्रकार संघका सुरेश सिंह धामी, खोप फोकल पर्सन जनकबहादुर कुँवर लगायतका अधिकारी, जनप्रतिनिधि र स्वास्थ्यकर्मी सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिती रहेको थिए।

अभियानमा उल्लेखनीय योगदान पुर्याएका स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई सम्मानपत्र प्रदान गरियो। स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले यो उपलब्धि पछिको संस्थागत प्रयासलाई महत्त्वपूर्ण बताएका छन्।
जिल्ला समन्वय समितिका बोहराले भने, “यो केवल सुरुवात हो। हामीले अब अन्य स्थानीय तहलाई पनि यस्तै उपलब्धि गराउनुपर्छ।” लालझाडीले कञ्चनपुरको मिसाल कायम गर्दै स्वास्थ्य सुरक्षामा ठूलो कदम चाल्दैछ।