कञ्चनपुर: लालझाडी गाउँपालिकाले आर्थिक रूपमा विपन्न र शैक्षिक रूपमा जेहेन्दार ८६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति वितरण गर्न लागिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार गाउँपालिकामा स्थायी रूपमा बसोबास गर्ने र स्नातक, स्नातकोत्तर तथा प्राविधिक शिक्षाको डिप्लोमा तहमा अध्ययनरत विद्यार्थीहरू छनोटमा परेका छन्। छात्रवृत्तिको रकम न्यूनतम ४ हजारदेखि अधिकतम १५ हजारसम्म तोकिएको छ। छनोटमा परेका विद्यार्थीलाई यही असार ११ गते एक औपचारिक कार्यक्रममार्फत छात्रवृत्ति वितरण गरिने जानकारी उनले दिएका छन

गाउँपालिका अध्यक्ष निर्मल रानाले भने, “शिक्षा हाम्रा युवा पुस्ताको दिगो भविष्य हो। आर्थिक अभावका कारण कोही पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो। उनले थपे, “हामी आगामी वर्षहरूमा छात्रवृत्तिको दायरा र पहुँच अझ विस्तार गर्ने योजनामा छौँ।” लालझाडी गाउँपालिकाको यो पहलले गाउँपालिका भित्रका विद्यार्थीहरूलाई उच्च शिक्षामा अघि बढ्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।