समाचार प्रभाव: कृष्णपुरको आई.सी.टी ईक्युपमेन्ट खरिद विवाद, अन्ततः नगरपालिकाले गर्यो ठेक्का रद्द

कञ्चनपुर: सूचना प्रविधि सामग्री (ICT Equipment) खरिद प्रक्रियामा गम्भीर त्रुटि र नक्कली कागजात प्रयोग भएको उजुरीपछि कृष्णपुर नगरपालिकाले १ करोड २४ लाख रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया रद्द गरेको छ।

नगर कार्यपालिकाले २०८२ बैशाख ५ गते सार्वजनिक सूचना मार्फत आह्वान गरेको ठेक्का नं. 29-ICT-2081/82 अन्तर्गत चार कम्पनीले सहभागिता जनाएका थिए — दिपेश इन्फोसेस, उग्रतारा टेक्निकल गुड्स सप्लायर्स, गडतोला सप्लायर्स, र ई–टेक इन्टरनेसनल प्रा.लि।

प्रारम्भिक मूल्यांकनमा दिपेश र गडतोला कम्पनी आवश्यक कागजात नपुगेको भन्दै छनौटमै परेनन्। बाँकी दुई कम्पनी – उग्रतारा र ई–टेक – प्रारम्भिक छनोटमा परेपछि कम रकम भएको बिडर कम्पनी उग्रतारालाई २०८२ जेठ २१ गते कृष्णपुर नगरपालिकाले आशयपत्र (Letter of Intent) जारी गर्यो। तर, चार दिनमै स्थिति उल्टियो।

२०८२ जेठ २५ गते ई–टेकले, उग्रताराले आफ्नो कागजात नक्कल गरेर ठेक्का प्राप्त गरेको भन्दै ठोस प्रमाणसहित नगरपालिकामा उजुरी दर्ता गरायो। सोही उजुरीको आधारमा पुनः छानबिन थालेको नगरपालिका प्रशासनले अन्ततः २०८२ असार १ गते ठेक्का प्रक्रिया रद्द गर्ने निर्णयमा पुग्यो।

नगरपालिकाको निर्णय सार्वजनिक खरिद नियमावली, २०६४ को नियम २५(३) र सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६(१)(क) मा आधारित रहेको उल्लेख गरिएको छ। नियम अनुसार, निर्माताबाट प्राप्त अधिकृतता प्रमाणपत्र (MAL) एकलौटी रूपमा एक कम्पनीलाई मात्र दिइनुपर्नेमा दुई कम्पनीले एउटै MAL प्रयोग गरेको देखिएपछि सम्पूर्ण प्रक्रिया अमान्य घोषित गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टका अनुसार, “MAL एक कम्पनीलाई मात्र दिइनुपर्नेमा दुवैलाई दिइएको देखियो। ठेक्कामा यस्तो गल्ती हुनु गम्भीर विषय हो, हामी खरिद अनुगमनसँग समेत समन्वयमा छौं।”

सूचना प्रविधि सामग्री खरिद तथा ढुवानी शीर्षकको यस ठेक्कामा १ करोड २४ लाख ९७ हजार ६ सय ८७ रुपैयाँ बराबरको सामग्री खरीद प्रक्रिया अघि बढिसकेको अवस्थामा ठेक्का रद्द हुनु गम्भीर प्रशासनिक लापरबाहीको सङ्केत हो। अब पुनः टेन्डर प्रक्रिया अघि बढाउने समय नहुँदा नगरपालिकाको सेवा प्रवाहमा समेत असर पर्ने देखिएको छ।

ई.एन नेपालले ठेक्का प्रकरणमा उजुरीपछिको विवाद परिस्थितिलाई तथ्यपरक निष्पक्ष समाचार निरन्तर सार्वजनिक गर्दै आएको छ। प्रारम्भिक चरणदेखि हालसम्मको अनुसन्धान र निर्णय प्रक्रियालाई पत्रकारिताको धर्म अनुसार तथ्यसहित प्रकाशन गरी आम नागरिकमा सूचना प्रवाह गर्दै आएको छ। यी र यस्ता लापरवाहीका कारण कृष्णपुर नगरवासीमा आक्रोश, शंका र चासो बढेको छ। कसरी एकै MAL पत्र दुई कम्पनीमा पुग्यो? किन प्रारम्भमै आवश्यक कागजातहरू जाँच गरिएनन्? यस्ता प्रश्नले नगरप्रशासनको निष्पक्षता र क्षमता दुवैमाथि प्रश्न उठाएको छ। ICT ठेक्कामा देखिएको यस प्रकारको गम्भीर कमजोरीले सार्वजनिक वित्तीय अनुशासनमाथि प्रहार मात्र होइन, स्थानीय तहमा न्यायोचित र पारदर्शी प्रशासनिक प्रक्रिया प्रतिको अविश्वास पनि जन्माएको छ। यस्तो संवेदनशील विषयमा गहिरो अनुसन्धान, जिम्मेवार पक्षको कारवाही र भविष्यमा यस्ता त्रुटि नदोहोऱिने प्रणालीगत सुधार अत्यावश्यक देखिन्छ। ई.एन नेपाल यस्ता विषयमा सत्य, तटस्थता र तथ्यका आधारमा निरन्तर जनचेतना अभिवृद्धि गराउने प्रतिबद्धताका साथ खडा रहनेछ।

Facebook Comments Box