कञ्चनपुरको कृष्णपुरमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको दुईदिने प्रशिक्षण सम्पन्न

कञ्चनपुर: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १ नं. ब्युरोद्वारा आयोजित दुईदिने प्रशिक्षण कार्यक्रम कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२, खल्लागोठस्थित जनहित सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ।

जेठ २८ र २९ गते सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णराज पौडेलले उद्घाटन गरेका थिए। उद्घाटन सत्रको अध्यक्षता १ नं. ब्युरो सचिव हरी सुवेदीले गरे भने कार्यक्रम सञ्चालन पार्टी केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज लालिकिरणले गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य पार्टी केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला सचिव विष्णुराम दमाईले व्यक्त गरेका थिए। प्रशिक्षण कार्यक्रममा अतिथि ब्युरो इन्चार्जको रूपमा कमरेड शेरबहादुर देउवाको उपस्थिति रहेको थियो।

उक्त प्रशिक्षणमा कञ्चनपुर, डडेल्धुरा र बैतडी जिल्लाबाट पार्टीका विभिन्न तहका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रशिक्षणको उद्देश्य पार्टी नीति, कार्यक्रम, विचार र नेतृत्वप्रति कार्यकर्ताहरूमा स्पष्टता ल्याउनुका साथै सांगठनिक सुदृढीकरण गरेका थिए।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि कमरेड कृष्णराज पौडेलले वर्तमान राजनीतिक अवस्था र पार्टीको भूमिकाबारे धारणा राखे। उनले भने, “देशमा एक सशक्त क्रान्तिकारी पार्टीको आवश्यकता जनताले गहिरो रूपमा महशुस गरेका छन्। हाम्रो पार्टीको नीति, उद्देश्य र विचारप्रति जनताको समर्थन र विश्वास बढ्दो छ, जुन कुरा ४५ दिने जनसम्पर्क विस्तार अभियानको क्रममा जनताले खुलेर अभिव्यक्त गरेका छन्।”

कार्यक्रममा विभिन्न सत्रमा प्रशिक्षण, छलफल तथा अन्तरक्रियात्मक प्रस्तुतिहरू समावेश गरिएका थिए। पार्टीको सांगठनिक निर्माण, वैचारिक मार्गदर्शन र समसामयिक राजनीतिक विश्लेषणजस्ता विषयहरूमा प्रशिक्षण दिइएको थियो।

Facebook Comments Box