सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरियामा निर्माण हुने

कैलाली: सुदूरपश्चिम प्रदेशको पहिलो आकाशे पुल गोदावरी नगरपालिका–२ स्थित अत्तरिया चोकमा निर्माण हुने भएको छ। गोदावरी नगरपालिकाले १५औं नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा यो महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो।

नगरप्रमुख वीरेन्द्र भट्टका अनुसार आकाशे पुल निर्माणका लागि प्रारम्भिक सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढिसकेको छ। नगरपालिकाले यो परियोजनालाई आगामी वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ। उनले अत्तरियामा बढ्दो सवारी चाप, जनघनत्व र पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै आकाशे पुल आवश्यक रहेको बताए।

“योजना केवल सपना होइन, हामी यसको सम्भाव्यता अध्ययनमा जुटिसकेका छौं। निर्माण कार्य चाँडै शुरू गरिनेछ,” नगरप्रमुख भट्टले नगरसभामा घोषणा गरे।

अत्तरिया चोक सुदूरपश्चिमको एक प्रमुख व्यापारिक तथा ट्राफिक केन्द्र हो। यहाँको सडक सधैं व्यस्त रहन्छ, जसका कारण पैदल यात्रुहरू दुर्घटनाको उच्च जोखिममा पर्दै आएका छन्। यस्ता जोखिम न्युनिकरण गर्दै सुरक्षित आवागमन सुनिश्चित गर्न आकाशे पुल अत्यावश्यक भएको स्थानीयवासीहरू बताउँछन्।

स्थानीय बासिन्दा तथा व्यापारीहरूले नगरपालिकाको यो निर्णयको स्वागत गरेका छन्। उनीहरूले आकाशे पुल निर्माणले अत्तरियाको सन्दर्भमा ऐतिहासिक काम हुने बताउँदै समयमै निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन्।

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक निर्माण हुन लागेको आकाशे पुलले समग्र प्रदेशको शहरी पूर्वाधार विकासतर्फको यात्रा सुरुवात गरेको संकेत दिन्छ। यदि योजनाअनुसार निर्माण कार्य सम्पन्न भयो भने अत्तरिया चोक केवल गोदावरीको मात्र नभई सुदूरपश्चिमकै आधुनिक र सुरक्षित ट्राफिक मोडेल बन्नेछ।

Facebook Comments Box