कञ्चनपुर: देशव्यापी केन्द्रीय निर्देशनअनुसार कञ्चनपुर जिल्लामा पनि भ्रष्टाचारविरुद्धको अभियान औपचारिक रूपमा सुरु गरिएको छ। जिल्ला सदरमुकाम महेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रमबाट अभियानको उद्घाटन गरिएको हो।

उक्त अभियानको उद्घाटन कार्यक्रमलाई जिल्ला इञ्चार्ज रामबहादुर महरा र १ नं. ब्युरो सेक्रेटरी हरि सुवेदीले सम्बोधन गरेका थिए। कार्यक्रममा जिल्लास्तरका नेताहरू, कार्यकर्ताहरू र स्थानीय जनता उल्लेख्य संख्यामा सहभागी भएका थिए।
“भ्रष्टाचारको अन्त्य नयाँ जनवादी समाजवादी व्यवस्थाबाट मात्र सम्भव” – रामबहादुर महरा
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इञ्चार्ज महराले देशका हरेक तहमा भ्रष्टाचार मौलाउँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले भने,

“सुन तस्करीदेखि मानव तस्करी, यति र ओम्नी काण्डजस्ता जघन्य अपराधका दोषीहरू जेलमुक्त भइरहेका छन्। स्थानीय तहमै पनि भ्रष्टाचार व्याप्त छ। यसको अन्त्य नयाँ जनवादी समाजवादी व्यवस्था स्थापना नगरी सम्भव छैन।”
उनले जनतालाई अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै थपे,
“जनता र पार्टीको एकता विना भ्रष्टाचार अन्त्य गर्न सकिन्न। त्यसैले आउनुहोस्, भविष्य निर्माणको यो प्रक्रियामा हामी सबै मिलेर अघि बढौं।”
“भ्रष्ट संसदीय व्यवस्था फाल्नैपर्छ” – हरि सुवेदी
कार्यक्रममा बोल्दै १ नं. ब्युरो सेक्रेटरी सुवेदीले हालको संसदीय व्यवस्थालाई दलाल, भ्रष्ट र जनविरोधी करार गरे। उनले भने,
“काण्डै काण्डले भरिएको यो प्रतिक्रियावादी सत्ता उखेलेर किसान-मजदुरका लागि नयाँ व्यवस्था ल्याउनु हाम्रो प्राथमिकता हो। चैत ४ देखि वैशाख १८ सम्म सञ्चालित जनसम्बन्ध विस्तार अभियानमा जनताले हामीलाई भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न सुझाव दिएका थिए।”
उनले जनताको चासोलाई ध्यानमा राख्दै अभियानको निर्णय गरिएको बताउँदै अगाडि थपे,
“भ्रष्ट माफियाको सार्वजनिक भण्डाफोर गर्ने, जनकारबाही गर्ने र जनतामाझ अभियानलाई सशक्त बनाउने काम हुनेछ। यसका लागि जनताले खुलेर साथ दिनुपर्ने आवश्यकता छ।”
अभियानमा बृहत जनसहभागिता अपेक्षा
भ्रष्टाचार विरुद्धको यो अभियानलाई सिर्जनात्मक, सचेतना मूलक र प्रतिरोधात्मक ढंगले सञ्चालन गरिने आयोजकहरूले बताएका छन्। भ्रष्ट कर्मचारी, व्यापारी र राजनीतिक पहुँचवालाहरूको नाम सार्वजनिक गर्दै जनजागरणका कार्यक्रमहरू सञ्चालन गरिनेछ।
नेताहरूले अन्त्यमा भने,
“अबको आन्दोलन केवल नारामा सीमित हुँदैन, जनताको शक्तिलाई आधार बनाएर भ्रष्ट व्यवस्थामाथि प्रत्यक्ष धक्का पुर्याइनेछ।”