लालझाडी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन : यस्ता छन् नीति तथा कार्यक्रम

शंकरपुर: कञ्चनपुरको लालझाडी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरिएको छ। गाउँपालिका अध्यक्ष एवं सभाध्यक्ष निर्मल रानाको अध्यक्षतामा शुक्रबार बसेको प्रथम बैठकले सामाजिक, भौतिक, आर्थिक तथा प्रशासनिक क्षेत्रको समग्र विकासमा केन्द्रित योजनाहरू पारित गरेको हो।

विपद् व्यवस्थापन र सुरक्षा रणनीति

स्थानीय तहमा विपद् न्यूनीकरणको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्दै स्थानीय कोषलाई निरन्तरता दिने निर्णय गरिएको छ। जंगली जनावर तथा छाडा पशुबाट अन्नबालीमा हुने क्षति रोक्न मेसवायर जडान गरिनेछ भने जोखिमयुक्त क्षेत्र पहिचान गरी सुरक्षित स्थान तोकिनेछ। दमकल सेवा सञ्चालन र विपद् स्वयमसेवकको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रमसमेत अघि सारिएको छ।
यस्तै, वडा नं. ६ को चान्देव बजार क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापनासहित आपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायसँग सहकार्य गरिनेछ।

सेवा प्रवाहमा नागरिकमुखी सुधार

संस्थागत विकासमा हेल्प डेस्क, गुनासो पेटिका, सार्वजनिक सुनुवाइ लगायतका उपायहरूलाई प्रभावकारी रूपमा लागू गरिनेछ। नागरिक सेवामा पारदर्शिता र जवाफदेहिता कायम गर्न ‘स्मार्ट गाउँपालिका तथा स्मार्ट जनप्रतिनिधि र कर्मचारी’ कार्यक्रम अघि बढाइने योजना छ।

रोजगार तथा वैदेशिक आप्रवासन

रोजगार सेवा केन्द्रमार्फत श्रमिक परिचालन तथा बेरोजगार युवालाई जीवनोपयोगी सीपमूलक तालिम दिने व्यवस्था मिलाइनेछ। वैदेशिक रोजगारी सुरक्षित बनाउन ‘सुरक्षित आप्रवासन कार्यक्रम’ सञ्चालन गरिने र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने लक्ष्य राखिएको छ।

भौतिक पूर्वाधारमा दीर्घकालीन योजना

पूर्वाधार निर्माणतर्फ सडक विस्तार, चक्रपथ निर्माण, प्रशासनिक भवन निर्माण तथा सौर्य उर्जामा आधारित आधुनिक सिँचाइ प्रणाली विस्तार गरिनेछ। नदी तटीय क्षेत्रका संरचनाहरू मर्मत एवं नयाँ तटबन्ध निर्माणमा प्राथमिकता दिइनेछ। साथै, वन संरक्षणसहित वृक्षारोपण अभियान सञ्चालन गरिनेछ।

सामाजिक विकासमा ध्यान

गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराउने नीति अनुसार स्वास्थ्य पूर्वाधार, औषधि उपलब्धता र सुत्केरी सेवा थप सुदृढ बनाइनेछ। साथै, जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने व्यवस्था गरिनेछ।

वित्तीय अनुशासन र सुशासन सुनिश्चित

गाउँपालिकाले आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै सार्वजनिक खर्च पारदर्शी र मितव्ययी बनाउने नीति अवलम्बन गर्नेछ। कर प्रणाली सुधार गर्दै करदाता मैत्री नीति कार्यान्वयन गरिने र नागरिक सन्तुष्टि सर्वेक्षण तथा सार्वजनिक सुनुवाइ प्रणालीलाई निरन्तरता दिइनेछ।

सूचना प्रवाह र डिजिटल गभर्नेन्स

गाउँपालिकाले डिजिटल ई–गभर्नेन्सलाई प्राथमिकता दिँदै सरकारी वेबसाइट, सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानहरूमा सिसिटिभी जडान र ई–हाजिरी प्रणाली सञ्चालन गर्ने योजना अघि सारेको छ।

सभाध्यक्ष निर्मल रानाले नीति तथा कार्यक्रम कार्यान्वयनमा सबै सरोकारवाला, जनप्रतिनिधि र कर्मचारीको सक्रिय सहभागिता अनिवार्य रहेको बताउँदै पारदर्शिता, जवाफदेहिता र परिणाममुखी प्रशासनका लागि साझा प्रयासको आवश्यक्ता औंल्याए। व,वगाउँसभा सचिवालयमार्फत नयाँ अभ्यासअनुसार सभा सञ्चालन गरिएको जानकारी सचिव तथा प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले दिएका छन्।

गाउँसभाको अर्को बैठक यही असार ९ गते बिहान ११ बजेका लागि तय गरिएको छ।

Facebook Comments Box