कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७४ करोड ७७ लाख ८० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १५औं नगरसभा आइतबार सम्पन्न हुँदै उपप्रमुख जोगराज चौधरीले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेका हुन्।

यसअघिको सत्रमा नगर प्रमुख पोतीलाल चौधरीले नीति तथा कार्यक्रम पेश गरेका थिए। बजेट तथा कार्यक्रमको मूल मर्म कृषि क्षेत्रको प्रवर्द्धन हो। कृषि आधुनिकीकरण र उद्यमशीलता अभिवृद्धिका लागि ५० प्रतिशत अनुदानमा कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने योजना नगरपालिकाले अघि सारेको छ।
बजेटमा केराको थामबाट धागो र डोरी उत्पादन तथा उखुबाट मिठाई र गुड उत्पादन गर्ने लघु उद्योग स्थापनाको नीति समावेश गरिएको छ। यसले कृषिजन्य उत्पादनको मूल्य अभिवृद्धि गरी आयमूलक अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
बेलौरी नगरपालिकाले शिक्षाको क्षेत्रलाई समेत प्राथमिकताको सूचिमा राख्दै “विद्यावारिधी गर्ने स्थानीयलाई १ लाख रुपैयाँसम्म अध्ययन खर्च” उपलब्ध गराउने नीति लिएको छ। स्वास्थ्य क्षेत्रमा भने सामुदायिक पहुँचयुक्त सेवा प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ।

“एक घर, एक बीमा” कार्यक्रमको माध्यमबाट सामाजिक सुरक्षा सुदृढ बनाउने नीति लिइएको छ। साथै, नगर क्षेत्रभित्र नगर प्रहरी गठन गर्ने घोषणा गरिएको छ, जसले नगरको शान्ति सुरक्षा र सुशासन प्रवाहमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीको एक दिनको पारिश्रमिक विपद् कोषमा जम्मा गर्ने नीति लागू गरिने छ। यो कदम संकटको समयमा नगरवासीको सुरक्षाका लागि दीर्घकालीन योगदान हुने विश्वास व्यक्त गरिएको छ।