कृष्णपुरको उदय माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल (NCC) तालिमको भव्य उद्घाटन

कृष्णपुर: कृष्णपुर नगरपालिका वडा नं. ०२, बंक कञ्चनपुरस्थित श्री उदय माध्यमिक विद्यालयमा नेपाली सेनाको समन्वयमा सञ्चालित राष्ट्रिय सेवा दल (NCC) जुनियर डिभिजन तालिमको भव्य उद्घाटन समारोह आज सम्पन्न भएको छ।

अनुशासन, नेतृत्व विकास र राष्ट्रसेवाको भावना विद्यार्थीहरूमा सशक्त रूपमा विकसित गराउने उद्देश्यले आयोजना गरिएको यो तालिमको उद्घाटन समारोह निकै आकर्षक, उत्साहजनक र गरिमामय रूपमा सम्पन्न भएको थियो।

कार्यक्रमको संचालन शिक्षिका नारु देवी पाण्डेयले गरेकी थिइन्। उनले तालिमको महत्व, उद्देश्य र विद्यार्थीलाई यसले दिने दीर्घकालीन फाइदाहरूबारे उल्लेख गर्दै कार्यक्रमको सुरुआत गरिन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र ब. पालले सभाध्यक्षको जिम्मेवारी सम्हाल्दै विद्यार्थीमा राष्ट्रिय चेतना र नेतृत्व क्षमताको विकासका लागि यस्ता तालिम अपरिहार्य रहेको धारणा राखे। त्यस्तै प्रमुख अतिथि वडा नं. ०२ का अध्यक्ष अर्जुन सिंह साउँदले तालिमको औपचारिक उद्घाटन गर्दै शुभकामना मन्तव्य दिएका थिए। उनले तालिमले विद्यार्थीलाई जिम्मेवार र अनुशासित नागरिक बनाउने विश्वास व्यक्त गरेका छन्। स्थानीय विद्यार्थीहरुलाई तालिमले निक्कै फाईदा गर्ने अध्यक्ष साउदले बताए।

विशिष्ठ अतिथि नेपाली सेनाका गुल्मपति सेनानी सन्तोष अधिकारीले NCC तालिमको ऐतिहासिक पृष्ठभूमि, उद्देश्य र नेपाली सेनाले यसमा गर्ने भूमिकाबारे प्रकाश पारे। उनले भने, “नेपाली सेनाको अनुशासन, समयपालन र राष्ट्रभक्ति विद्यार्थीमा रोप्नु यो तालिमको मुख्य उद्देश्य हो।”

तालिममा कक्षा ८ देखि १० सम्मका ३० जना विद्यार्थीहरुको सहभागिता रहेको विद्यालय व्यवस्थापन समिती अध्यक्ष दिपेन्द्र बहादुर पालले बताएका छन्।

तालिम अवधिभर सैनिक अनुशासन, आत्मनिर्भरता, प्राथमिक उपचार, परेड तालिम, नेतृत्व विकास, राष्ट्र सेवा र नागरिक उत्तरदायित्वसम्बन्धी विभिन्न प्रशिक्षणहरू प्रदान गरिनेछ। तालिमको सञ्चालन नेपाली सेनाको गुल्म श्री नं. २५ बाहिनी, भीमदत्तनगरबाट खटिएको प्रशिक्षक टोलीले गर्नेछ।

विद्यालय प्राङ्गणलाई राष्ट्रिय झण्डा र विभिन्न प्रेरणादायी नारा तथा व्यानरले सजाइएको थियो।

अतिथिहरूको स्वागत र सम्मानका लागि विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। भने शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा सेनाका पदाधिकारीहरूले तालिमको सफलताको कामना गर्दै यसले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

यस प्रकार, श्री उदय माध्यमिक विद्यालयमा सञ्चालित राष्ट्रिय सेवा दल (NCC) जुनियर डिभिजन तालिमको उद्घाटन समारोहले विद्यालय र समुदायमा नयाँ ऊर्जा, उत्साह र राष्ट्रप्रतिको समर्पण भावनाको संचार गरेको छ। आगामी दिनमा यस्ता कार्यक्रमहरू निरन्तर भइरहुन् भन्ने कामना गरिएको छ।

Facebook Comments Box