लालझाडीको भानु माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल (NCC) तालिमको शुभारम्भ

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जस्थित श्री भानु माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल (NCC) जुनियर डिभिजन तालिम सोमबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ। नेपाली सेनाको समन्वयमा सञ्चालन गरिएको यो तालिम अनुशासन, नेतृत्व विकास तथा राष्ट्रसेवाको भावना सशक्त रूपमा विकास गराउने उद्देश्यले सुरु गरिएको हो।

तालिम शुभारम्भ कार्यक्रम भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रानाले गरेका थिए। उद्घाटन सत्रमा बोल्दै अध्यक्ष रानाले ग्रामीण क्षेत्रका विद्यार्थीहरूमा राष्ट्रिय चेतना, सामाजिक उत्तरदायित्व र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता तालिमहरू अपरिहार्य भएको बताए।

कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका गुल्मपति सेनानी सन्तोष अधिकारीले NCC तालिमको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउँदै यसको उद्देश्य र सेनाको भूमिकामाथि प्रकाश पारे। उनले भने,

“नेपाली सेनाको अनुशासन, समयपालन र राष्ट्रभक्तिलाई विद्यार्थीको जीवनशैलीमा उतार्नु नै यो तालिमको मूल उद्देश्य हो।”

उनका अनुसार NCC तालिम राष्ट्र निर्माणमा योगदान पुर्‍याउने सक्षम, जिम्मेवार र नैतिक नागरिक उत्पादन गर्ने एक महत्वपूर्ण माध्यम हो।

विद्यालय व्यवस्थापन समितिका अनुसार कक्षा ८ देखि १० सम्मका ३० जना विद्यार्थीहरू सहभागी रहेको यो तालिम १०० दिनसम्म सञ्चालन हुनेछ। तालिम अवधिभर प्रशिक्षार्थीहरूलाई परेड अभ्यास, सैनिक अनुशासन, प्राथमिक उपचार, नेतृत्व विकास, नागरिक उत्तरदायित्व, आपत्कालीन उद्धार, राष्ट्र सेवा र आत्मरक्षा जस्ता विषयमा व्यवहारिक तथा सैद्धान्तिक प्रशिक्षण दिइनेछ।

तालिमको सञ्चालन नेपाली सेनाको गुल्म श्री नं. २५ बाहिनी, भीमदत्तनगरबाट खटिएको विशेष प्रशिक्षक टोलीले गर्नेछ। प्रशिक्षकहरू अनुभवसम्पन्न तथा दक्ष रहेका कारण तालिम प्रभावकारी हुने विश्वास गरिएको छ।

विद्यालय, पालिका र नेपाली सेनाको सहकार्यमा आयोजना गरिएको यस कार्यक्रमलाई स्थानीय स्तरमा सकारात्मक नमूना तालिमको रूपमा लिइएको छ। तालिमले विद्यार्थीहरूको व्यक्तिगत अनुशासनमा मात्र नभई सामाजिक योगदानको भावनामा समेत परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

राष्ट्रिय सेवा दल (NCC) तालिम ग्रामीण तहमा संचालन हुनु स्वयंमा राष्ट्रिय समर्पण र समावेशी सुरक्षा चेतना फैलाउने गहन प्रयासको संकेत हो। यस्ता कार्यक्रमहरूले राष्ट्र निर्माणको आधार तयार गर्दै युवालाई देशप्रति समर्पित बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने निश्चित छ।

Facebook Comments Box