लालझाडीको आगामी बजेट ४३ करोड ६५ लाख २२ हजार

शंकरपुर: कञ्चनपुरको लालझाडी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४३ करोड ६५ लाख २२ हजार रुपैयाँको बजेट पारित गर्दै १८औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष एवं सभाध्यक्ष निर्मल रानाको अध्यक्षतामा सोमबार सम्पन्न अधिवेशनले नीति तथा कार्यक्रमसहित विनियोजन र आर्थिक विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका कृषि मन्त्री वीरबहादुर थापा ‘पातल’ रहेका थिए। कार्यक्रममा वडाध्यक्षहरू, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले जानकारी दिए। अधिवेशन सफल पार्न सबै पक्षको सहकार्य र योगदान प्रशंसनीय रहेको उनले उल्लेख गरे।

उपाध्यक्ष सपना चौधरीले गाउँसभामा प्रस्तुत गरेको बजेट अनुसार, गाउँपालिकाको कुल अनुमानित बजेट ४३ करोड ६५ लाख २२ हजार रुपैयाँ रहेको छ। चालू खर्चतर्फ: २३ करोड ९९ लाख २६ हजार, पूँजीगत खर्चतर्फ: १९ करोड ६५ लाख ९६ हजार, चालू खर्च प्रशासनिक सञ्चालन, सेवा प्रवाह, कर्मचारी तलब-भत्ता, कार्यक्रम व्यवस्थापन, नियमित सेवा आपूर्ति जस्ता पक्षमा केन्द्रित हुने जनाइएको छ। त्यस्तै, पूँजीगत खर्चबाट पूर्वाधार विकास, सामाजिक सेवा, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक निर्माणजस्ता बहुप्राथमिकता प्राप्त क्षेत्रमा लगानी गरिने बताइएको छ।

गाउँपालिकामा रहेका ६ वटै वडाका लागि वडागत रूपमा २ करोड ३८ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
विवरण यसप्रकार छः

वडा नं. १ – ५० लाख २२ हजार
वडा नं. २ – ३४ लाख ७१ हजार
वडा नं. ३ – ३६ लाख २१ हजार
वडा नं. ४ – ५० लाख ३१ हजार
वडा नं. ५ – ३४ लाख ३४ हजार
वडा नं. ६ – ३२ लाख ७३ हजार

गाउँसभा छलफलका क्रममा जनप्रतिनिधिहरूले विभिन्न सुझाव र सिफारिसहरू पनि गरेका थिए।

कृषिमा यान्त्रीकरण र अनुदानको प्रभावकारीता
विपद् व्यवस्थापनको सुधार
शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि
स्वास्थ्य सेवाको पहुँच विस्तार
रोजगारी सिर्जना
महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि लक्षित कार्यक्रमहरूमा प्रभावकारिता
यस्ता विषयमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको थियो।

सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्षनिर्मल रानाले चालु आर्थिक वर्षमा अपूरा योजनाहरूलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे।

उनले भने”:

“हामीले विकास योजनाहरूमा पारदर्शिता, जवाफदेहिता र जनसहभागिताको सिद्धान्तलाई आत्मसात् गर्दै नीति तथा कार्यक्रम तय गरेका छौं। समावेशी विकास हाम्रो लक्ष्य हो।”

अधिवेशनको विशेष अवसरमा गाउँपालिकाभित्र उत्कृष्ट सेवा पुर्‍याउने स्थानीय स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको थियो। यो सम्मानले स्थानीय सेवाप्रदायकहरूमा थप ऊर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box