“कृष्णपुर वडा नं. ०४ का बासिन्दालाई छिट्टै जग्गाधनी पुर्जा उपलब्ध गराउछौ: वडा अध्यक्ष धर्म बहादुर सिह

कञ्चनपुर: कृष्णपुर नगरपालिकाको वडा नं. ०४ अन्तर्गत रहेका अव्यवस्थित बसोबासीहरूले अब छिट्टै आफ्नो नाममा जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने पक्का भएको कृष्णपुर ४ का वडा अध्यक्ष धर्म बहादुर सिहले बताएका छन्। लामो समयदेखि अनिश्चिततामा रहेका यस्ता नागरिकहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित भूमि समस्या समाधान आयोग, जिल्ला समिति कञ्चनपुरले ७ दिने सार्वजनिक सूचना प्रकाशन गरेको छ।

सूचनामा उल्लेख भएअनुसार, वडा नं. ०४ मा रहेका २१३० जना अव्यवस्थित बसोबासीको नामावली वडा कार्यालयमार्फत संकलन भई आयोगमा प्रमाणीकरणका लागि पेश गरिएको थियो। तीमध्ये सरकारी, ऐलानी, प्रति वा वनको रूपमा अभिलेखमा रहेका, तर विगत कम्तीमा १० वर्षदेखि बसोवास गर्दै आएका बासिन्दाहरूलाई जग्गा वितरणको प्रक्रिया अघि बढाइएको हो।

सार्वजनिक सूचनामा भनिएको छ– “२०७६ माघ २८ पछि आवासीय जग्गा वा घर नभएका, तथा न्यून आय भएका नागरिकहरूले आफू बसोबास गरिरहेको स्थानलाई प्रमाणित गराई सात दिनभित्र कुनै उजुरी वा दावी भएमा प्रमाणसहित जिल्ला समितिमा निवेदन दिन सकिनेछ।” उक्त सुचना वडा कार्यालयको आधिकारिक पेज र सार्वजनिक सूचना पार्टी मार्फत सूचना प्रकाशन गरिने छ।

यसैबीच, मंगलबार एक विशेष कार्यक्रमका बीच नगर प्रमुख हेम राज ओझा, वडा अध्यक्ष धर्म बहादुर सिह लगायतको उपस्थितिमा वडा नं. ०४ को प्रमाणित लगत आयोगका अध्यक्ष नेत्र प्रकाश पन्तलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। वडा अध्यक्ष धर्म बहादुर सिंहले भने, “अबको हाम्रो एउटै उद्देश्य वडा नं. ०४ का सबै बासिन्दालाई कानुनी रूपमा जग्गाको मालिक बनाउने हो। छिट्टै सबैलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिनेछ।”

अध्यक्ष सिहले थपे, वडा कार्यालयको “सूचना पार्टी र सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक सूचना जारी गर्नेछौ, ताकि कुनै व्यक्ति वा पक्षसँग संशोधन वा दाबी विरोधको आवश्यकता भएमा उनीहरूले सो सूचना हेरेर सात दिनभित्र निवेदन दिन सकून्।”

सूचनामा भनिएको छ, यदि निवेदक वा अन्य कसैले दाबी–विरोध वा संशोधन गर्न चाहेमा २०८२/०३/१६ गतेभित्र प्रमाणसहित जिल्ला समितिमा निवेदन दिनुपर्नेछ। त्यसपछि आउने उजुरी वा दाबी स्वीकृत नहुने स्पष्ट चेतावनी पनि सूचनामा दिइएको छ।

Facebook Comments Box