शंकरपुर: शिक्षा क्षेत्रको प्रवर्द्धन र ग्रामीण क्षेत्रका विद्यार्थीको हौसला वृद्धिका लागि लालझाडी गाउँपालिकाले एक महत्वपूर्ण पहल स्वरूप ‘अध्यक्ष विशेष छात्रवृत्ति वितरण कार्यक्रम’ अन्तर्गत कुल ८६ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको छ। आर्थिक अभावमा भविष्य निर्माणको सपना बोकेका विद्यार्थीका लागि यो कार्यक्रम ‘छोटो हात, ठूलो साथ’ सावित भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीका अनुसार छात्रवृत्ति वितरणलाई वर्गीकृत गरी तीन तहमा सम्पन्न गरिएको हो। सामान्य धार अन्तर्गत स्नातक तहमा अध्ययनरत ७३ जना विद्यार्थीलाई प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले सहयोग गरिएको छ। यस्तै, अपाङ्गता भएका, कमलरी पृष्ठभूमिबाट आएका तथा आमा-बुबा गुमाएका १० जना विद्यार्थीलाई, जो प्राविधिक धारतर्फ डिप्लोमा तहमा अध्ययनरत छन्, जनही ७ हजार रुपैयाँ दिइएको छ। त्यसैगरी, स्नातक तहमा प्राविधिक धारमा अध्ययनरत ३ जना विद्यार्थीलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो। यो कार्यक्रमबाट कूल ४ लाख ७ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
छात्रवृत्ति पाएका विद्यार्थीहरूको प्रतिक्रिया पनि निकै उत्साहजनक रहेको छ। “सानो रकम भए पनि हामीजस्ता ग्रामीण पृष्ठभूमिका विद्यार्थीहरूका लागि यो ठूलो सहारा हो,” एक विद्यार्थीले खुशी व्यक्त गरे। आर्थिक अभावका बीच पनि शिक्षाको उज्यालो यात्रालाई निरन्तरता दिन पाएकोमा उनीहरूले गाउँपालिकाप्रति आभार प्रकट गरेका छन्।
गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी रानाले शिक्षा क्षेत्रलाई विकासको मेरुदण्ड मानेर प्राथमिकतामा राख्दै यो कार्यक्रम अगाडि सारिएको जानकारी दिइन्। “विद्यार्थीहरूको मनोबल उच्च बनाउने उद्देश्यका साथ छात्रवृत्ति वितरण गरिएको हो,” उनले भनिन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष निर्मल रानाले शिक्षाबाटै समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गर्दै भने, “आजको सानो सहयोगले भोलिको ठूलो परिवर्तन सम्भव हुन्छ। छात्रवृत्ति रकमले विद्यार्थीलाई विद्यालय छाड्नबाट रोक्न र निरन्तर शिक्षामा जोडिन सघाउ पुर्याउने अपेक्षा लिएको छौं।” उनले कार्यक्रमलाई भविष्यमा अझ प्रभावकारी र व्यापक बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रमको समुचित व्यवस्थापन र सञ्चालन शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले गरेका थिए।
यो कार्यक्रमले गाउँपालिकाभित्रको समुदायमा शिक्षा प्रतिको सरोकार बढाउनुका साथै स्थानीय सरकार र जनताको सम्बन्धलाई अझ बलियो बनाएको महसुस गरिएको छ। शिक्षा क्षेत्रलाई सशक्त बनाउँदै आगामी पुस्तालाई उज्यालो भविष्य दिन गाउँपालिकाको यो पहल अनुकरणीय मानिएको छ।