कञ्चनपुर: अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको दिवसको अवसरमा कृष्णपुर नगरपालिका–१ मा सन्देशमूलक र्यालीसहितको जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। बैजनाथ बाल क्लबको अग्रसरतामा वडा कार्यालयको सहकार्यमा दोमिल्लास्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको र्याली पहरियास्थित वडा कार्यालयमा पुगेर समापन भएको थियो।

क्लबका उपाध्यक्ष अम्बादत्त जोशीका अनुसार झण्डै चार किलोमिटर लामो सो र्यालीले समुदायमा लागुऔषधविरुद्धको सचेतना फैलाउने उद्देश्य लिएको थियो। “हामी बाल अधिकार र बाल संरक्षणमा सक्रिय छौं,” जोशीले बताए, “यो र्याली हाम्रो अभियानको एक हिस्सा हो, जसले समाजलाई सुरक्षित, स्वस्थ र बालमैत्री बनाउने लक्ष्य बोकेको छ।”
उनका अनुसार वडालाई सन् २०२६ (वि.सं. २०८३) सम्ममा पूर्ण रूपमा बालमैत्री वडा घोषणा गर्ने योजना अघि सारिएको छ। सोही सन्दर्भमा भोलि बिहान ७ बजे पुनः अर्को चरणको सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने तयारी भएको छ, जसमा कालीका माध्यमिक विद्यालयबाट सुरु भई उदय माध्यमिक विद्यालय बंक चोक हुँदै वडा कार्यालयमा समापन गरिनेछ।
र्यालीमा वडा नं. १ का जनप्रतिनिधिहरू, अस्थायी प्रहरी चौकी पहरियाका सुरक्षाकर्मी, शिक्षक, स्वास्थ्यकर्मी, विभिन्न विद्यालयका बाल क्लब पदाधिकारी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो। सहभागीहरूले प्लेकार्ड, नाराबाजी तथा सूचना पम्प्लेटमार्फत लागुऔषधबाट टाढा रहन सबैमा आग्रह गरेका थिए।

कार्यक्रममार्फत विशेषगरी किशोर-किशोरी, विद्यार्थी र युवावर्गलाई लक्षित गर्दै लागुऔषधको नकारात्मक असरबारे जानकारी प्रदान गरिएको आयोजकले जनाएका छन्।
कृष्णपुर–१ मा आयोजित यो सचेतनामूलक र्याली केवल एक औपचारिक गतिविधिमा सीमित नभई, बालमैत्री समाज निर्माणतर्फको प्रतिबद्धताको संकेतस्वरूप देखा परेको छ। बाल अधिकारको प्रवर्द्धन, युवावर्गको नेतृत्व विकास र समावेशी समुदाय निर्माणमा स्थानीय तहको यस्तो सहभागिता सराहनीय मानिन्छ। यसले लामो समयदेखि उपेक्षित बाल आवाज र सरोकारलाई प्राथमिकतामा राख्दै, स्थानीय शासनमा बालमैत्री योजना कार्यान्वयनको मार्ग प्रशस्त गर्ने सम्भावना देखिन्छ।