कृष्णपुरका सामुदायिक विद्यालयको एसईई नतिजा अत्ति कमजोर: उतिर्ण प्रतिशत २४.८२ मात्रै

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशको कृष्णपुर नगरपालिका कञ्चनपुरमा रहेका सामुदायिक विद्यालयहरूको कक्षा १० (SEE) को परीक्षाफल सार्वजनिक भएको छ। तर, सार्वजनिक नतिजाले नगरभित्रको सामुदायिक शिक्षाको वास्तविकता झल्काउनेगरी निराशाजनक चित्र कोरेको छ।

नगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयबाट यसपटक जम्मा ८३० जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। तर, तीमध्ये केवल २०६ जना मात्र सफल भएका छन्। यो अनुसार नगरका सामुदायिक विद्यालयको समग्र सफलता दर २४.८२ प्रतिशत मा सीमित भएको छ – जुन शैक्षिक अवस्था अत्यन्तै चिन्ताजनक रहेको संकेत हो।

सबैभन्दा कमजोर प्रदर्शन गर्ने विद्यालयहरू: जिम्मेवार को? नगरभित्र रहेका केही विद्यालयहरूको नतिजा भने अत्यन्तै खराब रहेको छ। नन्द मावि, देखतभूली – सहभागी ७०, उत्तीर्ण ४, सफलता दर ५.७%, कालिका मावि, बण्ड – सहभागी ३०, उत्तीर्ण २, सफलता दर ६.७%
सरस्वती मावि, बाणी – सहभागी ९३, उत्तीर्ण ८, सफलता दर ८.६% रहेको छ।यस्ता लज्जास्पद नतिजाले नगरको सामुदायिक शैक्षिक संरचनाको प्रभावकारिता माथि गम्भीर प्रश्न उठाएको छ। विद्यार्थी, अभिभावक र स्थानीय समुदायबीच गुनासो र निराशा चुलिएको छ।

सबैभन्दा उत्कृष्ट विद्यालय: सरस्वती मावि, कल्याणपुर

नगरभित्रको अन्य विद्यालयको तुलनामा सरस्वती माध्यमिक विद्यालय, कल्याणपुर सबैभन्दा उत्कृष्ट विद्यालयका रूपमा देखिएको छ। उक्त विद्यालयबाट २४ जना विद्यार्थी सहभागी हुँदा १७ जना सफल भएका छन्, जसअनुसार विद्यालयले ७०.८ प्रतिशत सफलता हासिल गरेको छ।

त्यस्तै, कञ्चन माध्यमिक विद्यालय, विणा बाट ४० जना सहभागीमध्ये २२ जना उत्तीर्ण भई ५५.० प्रतिशत, र कृष्ण माध्यमिक विद्यालय, गुलरिया बाट ६० जना सहभागीमध्ये २९ जना उत्तीर्ण भई ४८.३ प्रतिशत सफलता दर हासिल गरेका छन्।

विद्यालयहरुको विस्तृत नतिजा विवरण

विद्यालयको नाम सहभागी संख्या उत्तीर्ण संख्या सफलता दर

राष्ट्रिय मा.वि, पहरिया 89 21 23.6%
उदय मा.वि, बंक 75 17 22.7%
समजी मा.वि, मालुमेला 109 24 22.0%
महाकाली मा.वि 76 22 28.9%
कालिका मा.वि, वण्ड 30 2 6.7%
सरस्वती मा.वि, बाणी 93 8 8.6%
कञ्चन मा.वि, विणा 40 22 55.0%
नन्द मा.वि, देखतभूली 70 4 5.7%
कृष्ण मा.वि, गुलरिया 60 29 48.3%
राष्ट्रिय मा.वि, कलुवापुर 68 18 26.5%
सरस्वती मा.वि, कल्याणपुर 24 17 70.8%
विणा मा.वि 46 11 23.9%
पञ्चादिन मा.वि 50 11 22.0%

सुधारका नारामा सीमित नगर शिक्षा:

नगरपालिकाले वर्षौंदेखि शिक्षा सुधारको नारा लगाउँदै आएको भए पनि वास्तविकता नतिजामा झल्किएको छ। नगरपालिकाको नियमन, निरीक्षण तथा विद्यालय व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको स्पष्ट छ। शिक्षकको कार्यसम्पादन, कक्षा शिक्षणको गुणस्तर र विद्यार्थीको मनोबल सबै तहमा गम्भीर प्रश्न उठिरहेका छन्।

विद्यार्थी र अभिभावकहरू सरकारी विद्यालयमा पढाएर भविष्य अन्यौलमा परेको गुनासो गरिरहेका छन्। यस्तो अवस्थामा शिक्षामा लगानी बालुवामा पानी हाल्नु जस्तै हो कि? भन्ने प्रश्न स्वाभाविकरूपमा उठ्न थालेको छ।

अब के गर्ने? – सुझावहरू

शिक्षकको कार्य मूल्याङ्कन प्रणाली तत्काल लागू गरिनुपर्छ।

विद्यालयको प्रगति मूल्याङ्कनको आधारमा बजेट बाँडफाँट हुनुपर्छ।

शैक्षिक तालिम, अभिप्रेरणा कार्यक्रम र अनुगमन प्रभावकारी बनाइनुपर्छ।

विद्यार्थीको सिकाइ स्तरको पहिचान गरी सुधारात्मक कदम चालिनुपर्छ। जिम्मेवारी लिने नेतृत्व र पारदर्शी व्यवस्थापन आवश्यक छ।

SEE परीक्षाफलको यो तथ्यांकले कृष्णपुर नगरपालिकामा रहेको सामुदायिक शिक्षा प्रणाली गम्भीर संकटमा रहेको स्पष्ट देखिन्छ। सुधारका लागि नीति र नारामा मात्रै सीमित नभई, व्यवहारिक कार्यान्वयनमा प्रतिबद्धता देखाउने समय आएको छ। अभिभावकको विश्वास फर्काउन र विद्यार्थीको भविष्य उज्यालो बनाउने जिम्मेवारी अब सम्बन्धित सबै निकायको काँधमा छ।

Facebook Comments Box