लागू औषधविरुद्ध सामुदायिक प्रहरी साझेदारी: कृष्णपुरमा सचेतनामूलक कार्यक्रम सम्पन्न

कृष्णपुर: ‘बालबालिका लागू औषध दुर्व्यसनको चपेटामा नपरोस्’ भन्ने उद्देश्यले कृष्णपुर नगरपालिकामा एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक प्रहरी साझेदारी अवधारणाअन्तर्गत आयोजित कार्यक्रम इलाका प्रहरी कार्यालय गुलरिया र कृष्णपुर नगरस्तरीय बाल सञ्जालको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रम कृष्णपुर नगरपालिका वडा नं. २ स्थित कार्यालयको सभाहलमा सम्पन्न भयो। कार्यक्रममा नगरस्तरीय बाल सञ्जालका अध्यक्ष अशोक सिंह धामीको सभापतित्व, तथा कार्यपालिका सदस्य सावित्री भारतीको प्रमुख आतिथ्यता रहेको थियो।

विशिष्ट अतिथिको रूपमा उपस्थित इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक नरेश चन्दले सहभागी बालबालिकालाई लागू औषधको असर, लक्षण, स्रोत, ओसारपसारका तरिका र त्यसबाट बच्ने उपायहरूबारे प्रशिक्षण दिएका थिए। उनले भने:

 

“लागू औषध दुर्व्यसनले केवल एक व्यक्तिको होइन, सम्पूर्ण समाजको भविष्य बिथोलिन्छ। प्रहरी मात्र होइन, हाम्रा बालबालिका, शिक्षक, अभिभावक र सम्पूर्ण समुदाय सचेत हुन आवश्यक छ।”

कार्यक्रममा महिला तथा बालबालिका शाखाकी चन्द्रा तिमिल्सिनाले बालमैत्री समाज निर्माणमा यस्तो सचेतनामूलक अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। NNSWA का फिल्ड सहजकर्ता कलावती चौधरी, साथी संस्थाका प्रतिनिधि राजमती भट्ट र मिना रावल लगायतले पनि बाल अधिकार र सुरक्षा सम्बन्धमा मन्तव्य राखे।

कार्यक्रममा सहभागी बालबालिकाले आफ्ना अनुभव र धारणा समेत साझा गरे। एक बालिकाले भनिन्:

“हामीले यो कार्यक्रममा सिक्यौं कि साथीभाइको दबाबमा लागू औषधको चङ्गुलमा नफसिनु पर्छ। हामी आफैंले पनि अरुलाई यसबारे चेतना दिन सक्छौं।”

अर्का सहभागी बालकले भने:

“पहिलोपटक यस्तो प्रशिक्षण पाएँ। अब विद्यालय र टोलमा गएर साथीहरुलाई पनि सिकाउँछु।”

कार्यक्रममा प्रहरी हल्दार कल्याण गिरी, स्थानीय सामाजिक अगुवाहरू, तथा कृष्णपुर नगरका विभिन्न विद्यालयका बालबालिकाको उत्साहजनक उपस्थिति थियो।

कार्यक्रमले बालबालिकालाई लागू औषध दुर्व्यसनको जोखिमबाट जोगाउने तथा उनीहरूलाई सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

Facebook Comments Box