कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ४ को कार्यालयले बुधबार वडाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ।

“मेरो वडा, मेरो अभिभावक कार्यक्रम” अन्तर्गत कृष्ण माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत विज्ञान संकायका १२ जना विद्यार्थीलाई जनही रु. ८,२५० का दरले छात्रवृत्ति प्रदान गरिएको हो। वडा अध्यक्ष धर्म बहादुर सिहले छात्रवृत्ति हस्तान्तरण गरेका थिए। छात्रवृत्तिका लागि वडा कार्यालयबाट कुल २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

वडा अध्यक्ष सिंहले भने”:
“सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू विशेषतः असहाय, विपन्न तर मिहिनेती र जेहेन्दारहरूका लागि वडाबाट यस्ता कार्यक्रम ल्याउनु हाम्रो दायित्व हो। शिक्षा नै परिवर्तनको आधार हो भन्ने सोचका साथ ‘मेरो वडा, मेरो अभिभावक’ भन्ने भावनालाई व्यवहारमा उतार्दैछौँ।” हाम्रो यो कार्यक्रम नियमित भईरहन्छ।
यसका साथै वडा नं. ४ अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ३० जना जेहेन्दार तथा असहाय विद्यार्थीहरूलाई झोला, कापी, कलम, पोशाकलगायतका शैक्षिक सामग्रीहरू वितरण गरिएको छ। यस कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक यात्रा सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीय अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिले वडा कार्यालयको उक्त पहललाई खुलेर स्वागत गरेका छन्। कार्यक्रमको समापनमा सहभागी अभिभावकहरूले भने,
“वडाको यो कदमले बालबालिकामा शिक्षा प्रति आशा र आत्मविश्वास बढाएको छ। यस्ता कार्यक्रमले सामाजिक समानता र शैक्षिक पहुँचमा समेत ठूलो भूमिका खेल्छ।
यस बर्ष वडाका स्थानीय ४२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहित छात्रवृत्ति वितरण गरिएको वडा कार्यालयले जनाएको छ।