कृष्णपुर नगरपालिकाको सूचना: छात्रवृत्तिका लागि निवेदन पेश गर्न आह्वान

कञ्चनपुर: कृष्णपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले चालु शैक्षिक सत्र २०८२ का लागि छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ। नगर कार्यपालिकाको कार्यालय, गुलरिया कञ्चनपुरबाट प्रकाशित सूचनाअनुसार नगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले आवेदन दिन आग्रह गरिएको हो।

यसअघि मिति २०८२ सालको वैशाख ३ गते च.न. २०५४ मार्फत विद्यालयहरूलाई आवश्यक विवरणसहित पत्राचार गरिए तापनि तोकिएको समयमा विद्यालयहरूबाट प्रतिक्रिया प्राप्त नभएको नगरपालिकाले जनाएको छ। त्यसैले पुनः सूचना प्रकाशित गरी सम्बन्धित विद्यार्थीहरूलाई आवेदन दिन आह्वान गरिएको हो।

विद्यार्थीहरूले आफ्नै अध्ययनरत संस्थागत विद्यालयहरूमा निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। आवेदन दिन सकिने म्याद २०७२ साल असार १८ गतेदेखि असार ३० गतेसम्म तोकिएको छ। यस अवधिमा विद्यालय समयभित्र निवेदन दिनुपर्नेछ।

छात्रवृत्ति विभिन्न समावेशी तथा लक्षित वर्गका लागि खुला गरिएको छ। जसमा जेहेन्दार, विपन्न वा गरिब, अपाङ्ग, छात्रा, दलित, जनजाति, मुक्त कमलहरी र मुक्त कमैया वर्गका विद्यार्थीहरू पर्छन्। प्रत्येक क्षेत्रअनुसार फरक–फरक प्रमाणपत्रहरू अनिवार्य गरिएको छ। जस्तै, जेहेन्दार विद्यार्थीका लागि विद्यालयको शैक्षिक अभिलेख, विपन्न वा गरिबका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस, अपाङ्गका लागि अपाङ्गता परिचयपत्र, दलित तथा जनजातिका लागि नेपाल सरकारको सूचीमा सूचिकृत प्रमाणपत्र, मुक्त कमलहरीका लागि परिचयपत्र तथा मुक्त कमैयाका लागि अभिभावकको प्रमाण वा वडा कार्यालयको सिफारिस अनिवार्य रहेको छ।

नगरपालिकाले सबै ९ वटा वडा कार्यालयहरू र संस्थागत विद्यालयहरूलाई सूचना पाटीमा टाँस गरी विद्यार्थीहरूलाई जानकारी गराउन विशेष आग्रह गरेको छ। छात्रवृत्तिको यो व्यवस्था समावेशी शिक्षामा पहुँच बढाउने नगरपालिकाको अभियानअन्तर्गत आएको हो।

Facebook Comments Box