कञ्चनपुर: कृष्णपुर नगरपालिकामा निर्माणाधीन १५ शैयाको अस्पताल भवनको काम तीन वर्षसम्म पनि सुरु नभएको पाइएको छ। तर कृष्णपुर नगरपालिकाले निर्माण व्यवसायीलाई रु. ५६ लाख ९९ हजार ५ सय को पेश्की रकम उपलब्ध गराइएको भए पनि, हालसम्म कुनै ठोस निर्माण कार्य अगाडि नबढेको भन्दै प्रश्न उठ्न थालेका छन्।

२०७८ सालको जेठ ५ गते, नगरपालिकाले राजेन्द्र निर्माण सेवा प्रा.लि. जोगबुडा, डडेल्धुरा (हालको बराह डेभलपर्स प्रा.लि. धनगढी-०४, कैलाली) सँग १५ शैयाको अस्पताल भवन निर्माण गर्ने सम्झौता गरेको थियो। ठेक्का नम्बर 25-HBC-2077/078 अनुसार, उक्त कार्य २०७८।०२।०५ देखि २०८०।०२।०५ सम्म सम्पन्न गरिनुपर्ने थियो।
दुईपटक म्याद थप, काम अझै शून्य

सम्झौता अवधि समाप्त भएपछि पालिकाले पहिलोपटक २०८१।०३।३० सम्म र दोस्रोपटक २०८१ सालको पौष मसान्तसम्म म्याद थप गर्यो। तर, निर्माण कार्य अझै सुरु भएको छैन। निर्माण व्यवसायीले निर्माण स्थलको अभाव, कोभिड महामारी, निर्माण सामग्रीको मूल्यवृद्धि लगायत कारण देखाउँदै म्याद थपका लागि निवेदन दिएको थियो।
सार्वजनिक खरिद नियमावली, २०६४ को अनुसार –
पेश्की लिएको मितिले ३० दिनभित्र कार्य सुरु गर्नुपर्ने स्पष्ट व्यवस्था छ।
र काम नगरेको अवस्थामा पेश्की असुल गर्ने वा बैंक जमानत जफत गर्ने कानुनी आधार पनि छ।
तर तीन वर्ष बितिसक्दा पनि न त काम सुरु भयो, न पेश्की फिर्ता आयो।
महालेखापरीक्षकको प्रतिवेदन भन्छ:
“मोबिलाइजेसन पेश्की लिएर पनि काम नगर्नु अत्यन्तै आपत्तिजनक छ, यसले स्वास्थ्य मन्त्रालयबाट बजेट मागमा समेत असर पुर्याएको छ।” भनेको छ। तर, नगरपालिकाले यो सुझाव कार्यान्वयन नगरेको देखिन्छ।
५७ लाख रुपैयाँ पेश्की भुक्तानी भइसकेको भए पनि अस्पताल भवनको शिलान्यास समेत नहुनुको अवस्थामा राज्यको पुँजीगत खर्चको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय तहले पेश्की रकम तत्काल असुल गर्नपर्ने महालेखाले जनाएको छ। स्थानीयवासीको आरोप छ कि कृष्णपुर नगरपालिकाले अहिलेसम्म अस्पताल निर्माणका लागि स्थान समेत यकिन गर्न सकेको छैन।
उता, छिमेकी पालिकाले पहिले नै नगरस्तरीय अस्पताल निर्माण सम्पन्न गरिसकेको अवस्थामा कृष्णपुरमा भने निर्माण कार्यको सुरुवात समेत नगर्नु गम्भीर उदासीनता र लापरवाहीको प्रमाण हो।