कृष्णपुर, कञ्चनपुर: उदय बाल क्लबको आयोजना र उदय माध्यमिक विद्यालयको सहयोगमा आज कृष्णपुरमा लागुऔषध तथा लागु पदार्थ दुरुपयोग विरुद्ध सचेतना र्याली सम्पन्न भएको छ। बिहान ठीक ८ बजे उदय माविको प्राङ्गणबाट सुरु भएको र्याली बंकचोक र बाणी हुँदै पुनः विद्यालय प्राङ्गणमा पुगेर औपचारिक रूपमा समापन भएको थियो।

उदय बाल क्लबका अध्यक्ष राजाराम शाहीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उदय माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री बम्मन राना प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो। त्यसैगरी, एनसीसीका प्रशिक्षक धर्मराज भट्ट विशिष्ट अतिथि हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन वासुदेव पाण्डेयले गर्नुभएको थियो।
करिब पाँच किलोमिटरको दूरी तय गरेको यस सचेतना र्यालीको व्यवस्थापनको जिम्मा आशा विष्ट र वासुदेव पाण्डेयले लिएका थिए। कार्यक्रममा इलाका प्रहरी कार्यालय बाणीका सहायक हवल्दार हर्क बहादुर धामीले लागु पदार्थसम्बन्धी महत्त्वपूर्ण जानकारी प्रदान गर्नुभएको थियो।

यो र्यालीले समुदायमा लागुऔषध दुरुपयोगबारे सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन्।