कञ्चनपुर: कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको लालझाडी गाउँपालिका वडा नं. ४ र ५ लाई पालिका जोड्ने पक्की पुल निर्माण हुन थालेको लामो समय भईसकेको छ तर अझै पनि पुल निर्माण कार्यले पुर्णता पाउन सकेको छैन।
स्थानियका अनुसार पुल निर्माण कार्यको सुरुवात भएको ८ वर्ष भैसकेको छ, पुल निर्माणका लागि खोलामा १२ करोडको लागतमा पिल्लर पनि गाडिएका छन तर बर्षौ देखि काम अलपत्र अवस्थामा छ। बर्षौ देखि सम्पर्क विहिन रहेका निर्माण व्यवसायी अहिले असारे झरीको मुखैमा पुल निर्माण गर्ने पुन आएका छन्।
सडक डिभिजन कार्यलय महेन्द्रनगर कञ्चनपुर द्वारा ३० करोडको कुल लागतमा पुल निर्माण ठेक्का सम्झौता भएतापनी प्राविधिक कारण देखाउदै लामो समय देखि काम रोकिएको थियो। ठेकेदारका ढिलासुस्तिका कारण यो पुल निर्माण कार्य रोकिएको जनबुझाई भएपनी ठेकेदार समूह भने सडक डिभिजनको प्राविधिक कारणले काम रोकिएको र अहिले नयाँ ठेक्का मार्फत पुन काम सुरु गर्ने खोजिएको बताएका छन्। १२ करोडको लागतमा पिल्लर निर्माण भैसकेको तर पछि प्राविधिकले खोलाको माटो परिक्षण गर्दा दलदल फेला परेको, पिल्लरको मुनि कङ्क्रिट फेला नपरेको लगायतका समस्या देखाउदै कामको मापदण्ड नपुगेकाले काम रोकिएको पुल निर्माण व्यवसायी कम्पनी का साईट ईन्चार्ज गोविन्द विष्ट बताउछन।
स्थानीय बासिन्दाहरु भने पुल निर्माण कार्यले पुर्णता नपाउदा आक्रोशीत देखिएका छन्। जुन नेता आएपनि पटक पटक यो पुल बनाउछु भन्ने तर पुल भने कहिले नबन्ने नेता, ठेकदारले जहिले पनि हामीलाई ठगेको ठगे गर्ने झुक्याउने स्थानीय बासिन्दाहरुको दुखेसो छ।
लालझाडी गाउँपालिका का नागरिकहरुको यो जटिल समस्यामा गाउँपालिका, वडा कार्यलय, सडक डिभिजन कञ्चनपुर, निर्माण व्यवसायी लगायत सरोकारवाला सम्पुर्णको गम्भीर ध्यानाकर्षण सहित निर्माण कार्य छिट्टै सम्पन्न भएको हेर्न चाहन्छौ ।