कृष्णपुरमा मदिराको विज्ञापनका लागि राखिएका बोर्ड हटाईयो

कृष्णपुर: सु.प प्रदेश सरकार अन्तर्गत समाजिक विकास मन्त्रालय प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुर र कृष्णपुर नगरपालिकाको समन्वयमा कृष्णपुरमा मदिरा, सुर्तीजन्य पदार्थ सम्बन्धिका विज्ञापनका होर्डिङ बोर्डहरु हटाईएको छ।

कृष्णपुरको गुलरिया र वाणी बजारमा रहेका करिव १३५ होटल, रेष्टुरेन्ट र मदिरा पसलहरुमा रहेका मदिरा तथा सुर्तीजन्य पदार्थका होडिङ बोर्डहरु आज प्रादेशिक स्वास्थ प्रवर्द्धन केन्द्र कञ्चनपुरका सुचना प्रविधि अधिकृत लाल प्रसाद न्यौपानेको नेतृत्व सहितको टोलिद्वारा हटाईएको छ।

कृष्णपुर नगरपालिकाका बजारहरुमा रहेका होटल, रेस्टुरेन्ट र पसलहरुमा राखिएका मदिराजन्य पदार्थको विज्ञापन सम्बन्धि होर्डिङ बोर्डहरु हटाएर नागरिकहरुमा सकारात्मक सन्देश गएको र यो वर्ष मदिराजन्य पदार्थ मार्फत कृष्णपुर नगरपालिकाले कुनै पनि कर नलिएको कृष्णपुरका नगर प्रमुख हेम राज ओझाले बताएका छन्।

खुल्ला रुपमा यसरी मदिरा र सुर्तीजन्य पदार्थका विज्ञापन सामाग्रीहरु राखिदा समाज र बालबालिकाहरुमा नकारात्मक असर पर्ने र विकृति फैलिएको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका प्रमुख हेम राज खड्काले बताएका छन्।

पहिलो पटक जानकारी सहित होर्डिङ बोर्डहरु हटाईएको र अर्को पटक यसरी पुन: फेला परे १ लाख सम्म नगद र ३ महिनासम्म कैद जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका सुचना प्रविधि अधिकृत लाल प्रसाद न्यौपानेले बताएका छन्।

अनुगमन कार्यक्रममा कृष्णपुर वडा नं. २ का वडा अध्यक्ष अर्जुन सिंह साउद, वडा नं. ५ का वडा अध्यक्ष टेक पाण्डेय, ईलाका प्रहरी कार्यलय गुलरियाका कार्यलय प्रमुख वरिष्ठ सह-इंस्पेक्टर जीवन गुरुङ लगायत टिम, वाणी अस्थायी प्रहरी पोस्ट प्रमुख राम बहादुर कार्की लगायत प्रहरी टिमको सहभागीता रहेको थियो।

Facebook Comments Box