कञ्चनपुरको लालझाडी ५ मा आठौँ ICYC वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु..
लालझाडी: कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ५ मा आठौँ ICYC वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता कार्तिक १४ गतेदेखि सुरु भएको छ। स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा खेलाडीहरूबीच आपसी भाइचारा र सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताको उद्घाटन समारोह क्लबका अध्यक्ष पहिलाद रानाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा लालझाडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष पहल बहादुर थापा र कृष्णपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष खेमराज चौधरीको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य क्लबका सचिवालय सदस्य खेम सिंह धामीले राख्नुभएको थियो। उहाँले प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगिताको उद्घाटन खेल बैबहा समाज बेलडाँडी र सनराइज युवा क्लबबीच भएको थियो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित समयमा दुवै टोलीबाट स्पष्ट नतिजा नआएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो। पेनाल्टी सुटआउटमा बैबहा समाज बेलडाँडीले सनराइज युवा क्लबलाई १ गोलले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीलाई नगद रु. ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। उद्घाटन समारोहमा विभिन्न सामुदायिक वनका अध्यक्ष, प्रतियोगिताका प्रायोजक तथा सहप्रायोजक, स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय क्षेत्रमा खेलकुद गतिविधिलाई निरन्तरता दिँदै युवाहरूलाई सकारात्मक र सिर्जनात्मक कार्यमा जोड्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगिताले नयाँ खेल प्रतिभा उत्पादन गर्नुका साथै स्थानीय तथा छिमेकी क्षेत्रका खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ। कार्यक्रमको सञ्चालन स्थानीय खेलप्रेमी हेमन्त रानाले गर्नुभएको थियो।
The post कञ्चनपुरको लालझाडी ५ मा आठौँ ICYC वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु.. appeared first on ✍️कञ्चन मिडिया📸.
