कञ्चनपुरको कृष्णपुरमा प्रथम नगरस्तरीय यू-१८ फुटबल प्रतियोगिता हुँदै
कृष्णपुर: किशोरकिशोरी तथा युवाहरूलाई लागुऔषधको दुर्व्यसनबाट टाढा राख्दै खेलकुदप्रति आकर्षित गर्ने र स्थानीय प्रतिभाको पहिचान गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्रथम नगरस्तरीय यू-१८ छात्र फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हिजो कार्तिक १५ गते कृष्णपुर नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी यो बारेमा जानकारी दिँदै ट्रफी तथा खेलतालिका सार्वजनिक गरिएको थियो। ‘नशाको मैदान छोडौँ, फुटबलको मैदान रोजौँ’ भन्ने मूल नाराका साथ कृष्णपुर नगरस्तरीय बाल सञ्जालको आयोजना र कृष्णपुर नगरपालिकाको सहकार्यमा यो प्रतियोगिता हुन लागेको हो।
कृष्णपुर नगरपालिका-२ स्थित मछेली खेलमैदानमा सञ्चालन हुने सो प्रतियोगितामा नगरभित्रका १५ वटा टोलीहरूले सहभागिता जनाउनेछन्। कात्तिक १६ गते बिहान ११ बजे उद्घाटन भई कात्तिक १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरभित्र बसोबास गर्ने १८ वर्षमुनिका छात्र खेलाडीहरूले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्।
प्रतियोगिताका विजेता टोलीले नगद रु. ३० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुने टोलीले क्रमशः नगद रु. २० हजार र रु. १० हजारका साथै ट्रफी र मेडल प्राप्त गर्नेछन्। यसैगरी, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद रु. ३ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही रु. १,५०० र ट्रफी प्रदान गरिनेछ। प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई नगद रु. ५०० र उदाउँदो खेलाडीलाई विशेष उपहारको व्यवस्था गरिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख हेमराज ओझा र उपप्रमुख द्रौपती रानाले युवाहरूलाई लागुऔषधको कुलतबाट जोगाउन खेलकुद, शिक्षा र सकारात्मक सामाजिक गतिविधि महत्त्वपूर्ण हुने बताए। प्रहरी वा स्थानीय सरकारको एक्लो प्रयासले मात्र दुर्व्यसन नियन्त्रण सम्भव नहुने भन्दै उनीहरूले परिवार, विद्यालय र समुदायबीचको समन्वयमा जोड दिएका छन्।
आयोजक सञ्जालका अध्यक्ष अशोक सिंह धामीका अनुसार कृष्णपुरका ८२ वटै टोलमा बाल सञ्जाल गठन भई हालसम्म करिब २,५०० बालबालिका जोडिएका छन्। विगत तीन वर्षदेखि बाल अधिकार, नेतृत्व विकास र दुर्व्यसनविरुद्ध सचेतना फैलाउँदै आएको सञ्जालले यस प्रतियोगितामार्फत युवाहरूलाई अनुशासित र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास लिएको छ।
The post कञ्चनपुरको कृष्णपुरमा प्रथम नगरस्तरीय यू-१८ फुटबल प्रतियोगिता हुँदै appeared first on ✍️कञ्चन मिडिया📸.
