July 15, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कृष्णुपुर नगरपालिका वडा नं. ३ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन; विकास र सुशासनमा जोड

कृष्णपुर: कञ्चनपुरको कृष्णुपुर नगरपालिका वडा नं. ३, देखतभुलीमा नवनिर्मित वडा कार्यालयको प्रशासनिक भवनको एक विशेष समारोहका बीच उद्घाटन भएको छ। २०८३ साल असार ३१ गते बुधबार आयोजना भएको उक्त उद्घाटन समारोहले स्थानीय तहमा भौतिक पूर्वाधार विकासको नयाँ इँटा थपेको छ। वडा नं. ३ का वडाध्यक्ष खेम राज चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको ठूलो उपस्थिति थियो।

​समारोहमा प्रमुख अतिथिका रूपमा कृष्णुपुर नगरपालिकाका प्रमुख हेम राज ओझा थिए भने विशिष्ट अतिथिका रूपमा नगरपालिकाकी उप-प्रमुख द्रौपति राना र प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट उपस्थित थिए। प्रमुख अतिथि ओझाले पानसमा बत्ती बालेर, रिबन काटेर तथा शिलालेख अनावरण गर्दै नवनिर्मित आधुनिक भवनको औपचारिक उद्घाटन गरे। कार्यक्रमको सुरुआतमा राष्ट्रिय गानको वाचन र ज्ञात-अज्ञात शहीदहरूको सम्झनामा १ मिनेट मौन धारण गरियो। वडा सदस्य भीम राज जोशीले उपस्थित सम्पूर्ण अतिथि तथा स्थानीय जनसमुदायलाई स्वागत मन्तव्यमार्फत स्वागत गरे।

​उद्घाटनपश्चात् आयोजना भएको विशेष सभामा बोल्दै विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट र उप-प्रमुख द्रौपति रानाले प्रशासनिक सुधार, नगर र वडाबीचको आपसी सम्बन्ध तथा सेवा प्रवाहलाई चुस्त बनाउने विषयमा आफ्नो धारणा राखे। त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हेम राज ओझाले नयाँ प्रशासनिक भवनको निर्माणसँगै वडावासीले पाउने सेवा सुविधाहरू थप सहज, प्रभावकारी र जनमुखी हुने विश्वास व्यक्त गरे। उनले कृष्णुपुर नगरपालिकाको समग्र विकास, सुशासन र वडाको आगामी मार्गनिर्देशनका बारेमा चर्चा गर्दै स्थानीय सरकार जनताको सुखदुःखको सहयात्री भएको बताउदै कार्यक्रममा वक्ताहरूले राखेका जिज्ञासाहरूको समाधान समेत गर्ने प्रयास नगर प्रमुख ओझाले गरेका थिए। ।

​उक्त समारोहमा कृष्णुपुर नगरपालिका २, ४ र ५ का वडा अध्यक्षहरू क्रमश: अर्जुन बहादुर साउद, धर्म बहादुर सिंह, र टेक पाण्डेको समेत आतिथ्यता रहेको थियो। त्यस्तै, वडा नं. ३ का वडा सदस्यहरू लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, शैक्षिक र वित्तीय क्षेत्रका अगुवाहरू, भलमन्साहरू लगायत स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो।भवन उद्घाटनसँगै अब वडा नं. ३ बाट प्रवाह हुने दैनिक प्रशासनिक सेवाहरू थप व्यवस्थित र प्रविधिमैत्री बन्ने स्थानीयवासीले आशा लिएका छन्।

​यसअघि वडा कार्यालयले प्रयोग गर्दै आएको पुरानो भवन निकै चर्किएको, जीर्ण र असुरक्षित अवस्थामा थियो। पानी पर्दा छतबाट पानी चुहिने र भूकम्पीय दृष्टिकोणले समेत जोखिमपूर्ण रहेको सो साँघुरो भवनबाट सेवा प्रवाह गर्दा एकातिर कर्मचारीहरूलाई कार्यसम्पादनमा निकै सकस थियो भने अर्कोतिर सेवाग्राहीहरूले पनि घण्टौँसम्म सास्ती खेप्नुपर्ने बाध्यता थियो। एउटै सानो कोठाबाट धेरै शाखाहरू सञ्चालन गर्नुपर्दा सेवाको गोपनीयता र छिटोछरितोपनमा ठूलो बाधा पुगिरहेको थियो। तर, अहिले अत्याधुनिक, फराकिलो र सुविधासम्पन्न नयाँ प्रशासनिक भवन निर्माण भएसँगै ती सम्पूर्ण समस्याहरू सदाका लागि अन्त्य भएका छन्। अब कर्मचारीहरूले सुरक्षित वातावरणमा ढुक्क भएर काम गर्न पाउनेछन् भने वडावासीहरूले पनि विना झन्झट, छिटो र सहज रूपमा आधुनिक प्रविधिमार्फत सेवा प्राप्त गर्न सक्नेछन्।

सभाध्यक्ष एवं वडाध्यक्ष खेम राज चौधरीले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नगर कार्यपालिका, कर्मचारी, राजनीतिक दल र आम वडावासीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।

Copyright © All rights reserved. | Newsphere by AF themes.